Monday, December 28, 2009

अब अपराधीको ‘बायोडाटा’ इन्टरनेटमा

कसैमाथि अपशब्द प्रयोग गरी गालीगलौज तथा हातपात गर्नुभयो’ भने अब तपाईं कानुनी सजायको भागिदार मात्र होइन, जिन्दगीभर आपराधिक व्यक्तिहरूको आरोपित समूहमा सूचीकृत हुनुहुनेछ ।

त्यसैले अपराधविरुद्धको अभियानमा आफूलाई पनि सहभागी गराई बेलैमा अभियुक्त तथा आपराधिक समूहको सूचीबाट जोगिन सजग हुनुहोस् । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले अबदेखि अभियुक्त तथा अपराधी आरोप लागेकाहरू सबैको तथ्याङ्क इन्टरनेटमा राख्ने भएको छ ।

महाशाखाका प्रमुख रणबहादुर चन्दका अनुसार अपशब्द प्रयोग गरी गालीगलौज गर्नेदेखि धम्की दिने र हातपात गर्नेहरू सबै कानुनको भागिदार हुने भएकाले त्यस्ता व्यक्तिको ‘वायोडाटा’ सर्वसाधारणको जानकारीका लागि इन्टरनेटमा राख्ने तयारी भएको हो । कानुनविपरीत कार्य गर्ने सबै अपराधी हुन्, यस्ता व्यक्तिलाई सचेत तुल्याउन ‘बायोडाटा’ सूचीकृत गर्न लागिएको उहााले स्पष्ट पार्नुभयो ।

कुन पनि व्यक्तिले जीवनका विभिन्न कालखण्डमा के कस्ता अभियोगहरूको सामना गर्नुपर्‍यो ? र, कुन प्रकृतिको अपराध गरेबापत कति वर्ष जेल जीवन बिताउनुपर्‍यो ? लगायतका घटना विवरणसमेत इन्टरेटमा राखिनेछन्, यस कार्यका लागि सूचनाप्रविधि शाखा स्थापना भइसकेको छ- महाशाखा प्रमुख चन्दले भन्नुभयो ।

सर्वसाधारणले शङ्का लागेमा कुनै व्यक्तिको नाम तथा थर टाइप गरेर सो व्यक्ति संलग्न भएको अपराधका घटनाको विवरण सजिलैसाग प्राप्त गर्न सक्नेछन् । यस कार्यलाई सम्पन्न गर्न महाशाखाले दक्ष कम्प्युटर इन्जिनियरहरू तथा अपराध विज्ञहरूसाग छलफल र सहकार्य गरी कार्यक्रम अगाडि बढाइसकेको छ ।

सरकारले हाल लागू गरेको विशेष सुरक्षा कार्यक्रम-२०६६ लाई सफल र प्रभावकारी तुल्याउन यो कार्यक्रम उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ । विशेषगरी उपत्यकामा हुने गरेका अपराधजन्य गतिविधिमा संलग्न व्यक्ति तथा समूहको सूचीकृत गर्ने कार्य भइरहेको महाशाखाले जनाएको छ ।

कानुनले समेत आपराधिक ठहर्‍याएका व्यक्तिहरूको इन्टरनेटमा तीनपुस्ते इतिहास नै समेटिनेछ भने अन्य अभियुक्तहरूको नाम, उमेर, ठेगाना र अन्य क्रियाकलापहरू समेट्ने योजना रहेको महाशाखा प्रमुख चन्दले बताउनुभएको छ । इन्टरेटमा राखेको यो व्यक्तिगत बायोडाटाबाट आवश्यक परेमा सर्वसाधारण स्वयंले समेत आफू र आफन्तमाथि लागेका अभियोगका सम्बन्धमा समेत जान्न र बुझ्न पाउने छन् ।

यसरी सर्वसाधारणले समेत हेर्न पाउने गरी अभियुक्त तथा अपराधीहरूको सूची इन्टरनेटमा राख्दा कानुनविपरीत काम गर्ने सम्पूर्ण व्यक्तिको पहिचान हुनुका साथै आपराधिक क्रियाकलाप नगर्न र नगराउने कार्यप्रति सचेत तुल्याउन सहयोग पुग्ने विश्वास प्रहरीको रहेको छ ।

आफ्नो घर तथा टोलछिमेकमा आपराधिक व्यक्ति बसिरहेका त छैनन् भन्ने कुराको सूचना दिनका साथै त्यस्ता व्यक्तिप्रति सचेत हुन यो अभियान लाभदायक हुने विश्वास प्रहरीले गरेको छ ।

करिब तीस लाख जनसङ्ख्या रहेको उपत्यकामा सबै व्यक्ति अपराधी नभएको तथ्य प्रस्तुत गर्दै चन्दले हजारमा एक जना आपराधिक मनस्थितिको हुने गरेको जानकारी दिनुभयो ।

‘त्यस्तो व्यक्ति कुन ठाँउमा बस्छ र के काम गर्छ भन्ने कुराको जानकारी लिन तथा पक्राउमा सहयोग गर्न ‘इन्टरनेट सेवा’ फलदायी हुने देखिन्छ’, उहाँ भन्नुहुन्छ- ‘पब्लिक-प्रहरी पार्टनरसीप’ कार्यक्रमलाई सफल पार्न मद्दत पुग्छ । अपहरण, चोरी डकैती र लुटपाटजस्ता घटनामा संलग्नहरूलाई पक्राउ गर्न सकिन्छ ।

उपत्यकामा हिजोआज चिनजानका व्यक्तिबाट नै छिमेक तथा आफन्तको घरमा यस्तै किसिमका अपराधका घटनाहरू हुन थालेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख गणेश केसीले राजधानीमा बसोवास गर्ने व्यक्तिहरूको पुनः फोटोसहित तथ्याङ्क राख्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

– गोरखापत्र दैनिकबाट

Wednesday, December 16, 2009

जापान जान ५० हजार तिरे पुग्ने

विश्वकै लागि आकर्षक श्रम गन्तव्य जापानमा प्रशिक्षार्थीका रुपमा जान पचास हजार रुपैयाँ मात्र तिर्नुपर्ने भएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन (जिट्को) मार्फत जापान कामदार पठाउन प्रवर्द्धन खर्च वापत म्यानपावर कम्पनीले यो रकम लिन पाउनेछन् । सरकारले नेपाली औद्योगिक प्रशिक्षार्थी सम्बन्धी निर्देशिकालाई आइतबार श्रम तथा यातायात मन्त्रालयले पारित गरेको छ ।

यसमा टिकट खर्च, भिसा शुल्क जोडिएको छैन । यो खर्चमा जापानी पक्षले तोके बमोजिम कामदारको स्वास्थ्उ परीक्षण, पूर्व प्रस्थान, भाषा सँस्कृत सम्बन्धी शुल्क कादारको अनुगमन, बजार व्यवस्थापन खर्च समावेश छन् । यो भन्दा बढी रकम लिए वा दिए भ्रष्टाचार गरे सरह कारबाही हुने निर्देशिकामा उल्लेख छ ।

मन्त्रालय स्रोतका अनुसार निर्देशिका जारीसँगै अब म्यानपावर कम्पनीले कामदारको माग ल्याएर वैदेशिक रोजगार बिभागमार्फत पठाउन पाउने छन् । जिट्कोमा आवद्ध उद्योगबाट माग पत्र ल्याएर विभागबाट स्वीकृत गराइ कामदार लैजान पाउने मन्त्रालय स्रोतले बतायो । निर्देशिका १ सय ७१ म्यानपावर र नेपाल उद्योग वाणिज्य महासंघलाई लागू हुनेछ, आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

Friday, December 4, 2009

मन्त्रिपरिषद् बैठक सम्पन्न, सगरमाथा घोषणापत्र जारी

१९ मंसिर, काठमाडौं । सगरमाथा घोषणापत्र जारी गर्दै इतिहासमै पहिलोपटक सगरमाथा आधारशिविरमा मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । १० बुँदे घोषणापत्रमा दक्षिणएसियाली लगायत सबै पक्ष राष्ट्रहरुसँग हिमाली क्षेत्रको संरक्षणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

पर्वतीय पर्यावरणलाई संरक्षण गर्ने क्रममा संरक्षित क्षेत्रलाई बिस्तार गरी नेपालको हालको २० प्रतिशत संरक्षण क्षेत्रलाई २५ क्षेत्रमा पुर्‍याउने र वन क्षेत्र ४० प्रतिशतलाई सुदृढ गर्ने घोषणा गरेको छ । यसैगरी विकसित राष्ट्रले कूल गार्हस्थ उत्पादनको कम्तीमा एक दशमलब ५ प्रतिशत ‘जलवायु अनुकूलन कोष’मा योगदान गर्ने प्रस्तावमा नेपालले समर्थन जनाएको छ ।

मानव कृयाकलापबाट जलवायु परिवर्तनबाट भयावह स्थिति सृजना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० पीपीएम भन्दा घटी हुन नहुने र पृथ्युको सतहको औसत तापक्रम १ दशमलब ५ सेन्टि्रग्रेड भन्दा नगर्न हरित गृह ग्याँस उत्सर्जनकर्ता राष्ट्रहरुलाई आग्रह गरेको छ ।

डेनमार्कको कोपनहेगनमा आगामि शनिबारबाट सुरु हुने जलवायु परिवर्तन सम्वन्धी १५ औं शिखर सम्मेलनमा पनि १ दशमलब ५ सेन्टि्रग्रेड तापक्रम सम्बन्धि मुद्दा मुख्य एजेण्डा छ ।

आधारशिविर कालापत्थरमा ५ हजार २ सय ४२ मिटरको उचाइमा करिब आधा घण्टा बैठक बसी स्याङ्गबोचेमा फर्केर पत्रकार सम्मेलन गरिएको थियो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले कोपन हेगनमा हुने विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आधारपत्रलाई बैठकले अन्तिम रुप दिएको जानकारी दिनुभयो ।

यसैगरी डिसेम्बर ११ तारिकमा डेनमार्कको कोपनहेगनमा पर्वतारोहीहरुको सम्मेलनमा नेपालका पर्बतारोहीबाट पेश हुने ‘सेभ हिमालया’ नामको घोषणापत्र पनि बैठकले जारी गरेको छ । सम्मेलनमा सहभागी हुन ३० जना नेपाली पर्वतारोही जानेछन् ।

सुदूरपश्चिमको दार्चुला जिल्लाका २१ गाविस समेटेर संरक्षण क्षेत्र घोषणा गरेको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जलाई नयाँ राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ । स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

बैठकमा सहभागि हुन विहीबारै लुक्ला पुगेका प्रधानमन्त्री माधबकुमार नेपालसहित २४ मन्त्रीहरु आज विहान कालापत्थर पुगेका थिए । विहीबार लुक्लामा बसेका सबै सदस्यहरु आज विहान नेपाली सेनाको एम आई हेलिकोप्टरबाट स्याङ्बोचे हुँदै कालापत्थर पुगेका हुन् । कालापत्थर प्रस्थान गर्नुअघि स्याङ्बोचेमा मन्त्रीपरिषद्का सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधबकुमार नेपालले विश्वसमुदायलाई जलवायु परिवर्तनबारे चेतना जगाउन बैठक महत्वपूर्ण भएको बताउनु भयो । सबैभन्दा बढि कार्बन उत्सर्जन गरिरहेका राष्ट्रहरुले जलवायु परिवर्तनविरुद्धको अभियानमा सबैभन्दा बढी त्याग गर्नुपर्ने बताउनुभयो ।

विभिन्न अन्तर्राष्ट्रिय एनजीओहरुको सहयोगमा आयोजित बैठकको समाचार प्रसारण गर्न देशी, विदेशी गरी ७५ जना भन्दा बढि संचारकर्मीहरुको टोली पनि स्याङ्बोचे पुगेका थिए । मौसम अनुकूल नभएकाले सबै सहभागी शुक्रबार काठमाण्डौ आउन सकेनन् ।

Tuesday, November 24, 2009

शिक्षकलाई हाजिर हुन दिएनन

– लक्ष्मण के.सि

जाजरकोट लहुं गाविस वडा नं. ६ स्थित इन्द्रधनुस प्राथामिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय जाजरकोटवाट पठाइएका शिक्षक इश्वरी जैसीलाई विद्यालय ब्यवस्थापन समितिले हाजिर हुन दिएको छैन् । इन्द्रधनुस विद्यालयमा कार्यरत शिक्षक दिपेन्द्र मल्लले राजीनामा दिएपछि खाली रहेको दरवन्दीमा विज्ञापन नै नगरी सोझ अवकास प्राप्त शिक्षक जिल्ला शिक्षा कार्यालयले पठाएको भन्दै जैसीलाई विद्यालय ब्यवस्थापन समिति र स्थानय वासिन्दाले हाजिर हुन नदिने निर्णय गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि वहादुर ओलीले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटलाई खुल्ला विज्ञापनका लागी अनुमति दिन विद्यालय ब्यवस्थापन समितिले माग गरका छन । यस्तै जाजरकोटको जगतीपुर गाबिसको कुदु भगबती निम्नमाध्यामिक बिद्यालयमा राहात दरबन्दी परेको ६ महिना बितिसक्दा पनि बिद्यालय ब्यबस्थापन समितिले अहिले सम्म शिक्षक नियुयक्ती गरेको छैन ।

यस बर्षको राहात कोटा अङग्रेजी बिषयको शिक्षक नियुक्ती गर्ने भनितापनि अहिलेसम्म बिद्यालय ब्यबस्थापन समितिको राजनितिक खिचातानीले गर्दा अहिलेसम्म शिक्षक नियुक्ती गर्न नसकेको बिद्यालयका एक शिक्षकले बताए । बिद्यालयमा अहिले अङग्रेजी बिषयको शिक्षक नभएपछि अङग्रेजी पढाई नै भएको छैन कक्षा ८ मा अध्ययनरत नबिन केसी भन्छन स्कुलमा बैठक बोलाएको बेला पार्टीका मान्छेहरुले मेरो मान्छे राख्ने भनेर दाबी गर्छन तर अहिले सम्म शिक्षक नराखेपछि पठन पाठनमा समस्या परेको उनले बताए ।

जाजरकोटबाट फर्किएपछि

Monday, November 16, 2009

राजधानी नजिकैको एक गरिव विद्यालय

– कपिल श्रेष्ठ

राजधानी काठमाडौँ देखि नजिकै पर्ने ललितपुरको दलचोकी गाविसमा पर्ने क्याक्लिङ गाउँमा पुग्दा मलाई आफू ललितपुर होइन नेपालको कुनै दुर्गम जिल्ला पुगेँ कि भन्ने अनुभव भयो । सनराइज एजुकेशन फाउण्डेशनले सञ्चालन गर्दै आएको सामुदायिक विद्यालय सहयोग कार्यक्रम अन्तर्गत नयाँ विद्यालय छनौटका लागि सहयोगी साथी कृष्णओम थापासँग म त्यहाँ पुग्दा विद्यालयका साना साना बालबालिकाहरु हामीलाई स्वागत गर्न हातमा फूलको गुच्छासहित लामबद्ध उभिरहेका थिए ।

नजिकै विद्यालय नभएका कारण आफ्ना बालबालिकाहरुले शिक्षा पाउन नसकेपछि स्थानीय अभिभावकहरुको सक्रियतामा २०५३ सालमा यस जनहित प्राथमिक विद्यालयको स्थापना भएको थियो । यो विद्यालय निर्माण गर्नका लागि स्थानीय अभिभावकहरुद्वारा महिनौँ दिनको श्रमदान र चन्दा संकलन गरिएको थियो । त्यसपछि मात्र विद्यालय दर्ता भई सानो टहरा बनाउन सकेको थियो । गाउँलेहरुको सक्रियता देखेपछि सरकारको तर्फबाट दुई जना शिक्षकको दरबन्दीबाट दिएर कक्षा एक देखि पढाइ सुरु भएको यस विद्यालयमा हाल ६५ विद्यार्थीहरु रहेका छन् भने ५ कक्षासम्म अध्ययन हुने गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नगरकोटीका अनुसार सम्पूर्ण गाउँलेहरुको सर्वसम्मत प्रस्ताव बमोजिम विद्यालयको नाम जनहित प्राथमिक विद्यालय राखिएको थियो । यो विद्यालय पुग्न गाडीबाट झरेपछि चार घण्टाको पैदल यात्रा गर्नुपर्छ । यस विद्यालयले हालसम्म गैरसरकारी संस्थाहरुबाट कुनै सहयोग पाउन नसकेको बताउँदै विद्यालयका प्रधानअध्यापक शिवप्रसाद घिमिरे भन्छन्– “उकालो ओरालो अनि भिरालो बाटो भएकाले होला ।” जिल्लाको दलचोकी गाविससम्म धेरै गैरसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गरिहेका छन् । तर यस ठाउँमा अहिलेसम्म कुनै पनि गैरसरकारी संस्थाहरुले निरिक्षणमासम्म आएको छैन । गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग हाम्रो विद्यालयतिर किन नआएको भनेर प्रश्न गर्दा “धेरै टाडा भएकाले आफूहरु आउन नसक्ने” बताउने गरेको तितो अनुभव सुनाउँछन् स्थानीय महिला समूहकी अध्यक्ष टीका माया नगरकोटी ।

सनराइज एजुकेशन फाउण्डेशनले ललितपुर जिल्लाका केही विद्यालयहरुमा विगत तीन वर्षदेखि सहयोग कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै सिलसिलामा क्याक्लिङ गाउँका स्थानीय समुदाय र कार्यक्रम सञ्चालित विद्यालयका प्रधानअध्यापक विष्णु सरको अनुरोध बमोजिम फाउण्डेशनका तर्फबाट हामी उक्त विद्यालय पुगेका थियौँ ।

हामी विद्यालय पुग्दा साना साना नानीहरु मात्र होइन स्थानीय अभिभावकहरु पनि उत्साह पूर्वक विद्यालय परिसरमा उपस्थित भएका थिए । विद्यालय वरिपरिको वातावरण हेर्दा भिरालो ठाउँ, साँघुरो कोठा र बाटोहरु पनि अप्ठेरो भएका कारण कुनै पनि बेला दुर्घटना नहोला भन्न सकिन्न । पुरानो भवन अनि भत्किएका भित्ताहरु हेर्दा खतराको महशुस गर्न जो कोही बाध्य हुनु पर्ने देखिन्छ ।

अभिभावकहरुका अनुसार यो विद्यालय देखि अरु विद्यालय पुग्न लगभग तीन घण्टाको बाटो हिँडेर जानु पर्छ । त्यसैगरी यस विद्यालयमा पढाउन आउने शिक्षकहरु पनि लगभग चार घण्टाको बाटो हिँडेर यहाँ पढाउन आउने गरेको बताउँछन् ।

यस गाउँका बासिन्दाहरु प्रायः सबै आ–आफ्नै खेती किसानीमा व्यस्त रहने र गाउँमा शिक्षित मानिसहरुको कमी भएका कारणले होला विद्यालयको अवस्था पनि दिनदिनै बिग्रँदै गएको देखिन्छ । विद्यालयको भवन पुरानो भइसके पनि मर्मत सम्भार तथा पुनःर्निर्माणका लागि सबै तहमा कुरा राख्दा पनि अहिलेसम्म आश्वासन मात्र पाएको विद्यालयका प्रधानअध्यापक शिवप्रसाद घिमिरे बताउँछन् । भवन निर्माण तथा सुरक्षित विद्यालय बनाउन पायो भने यस गाउँका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउने थिए भन्छन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नगरकोटी ।

विद्यालयका साना साना नानीहरु र आर्थिक रुपमा विपन्न भए पनि मनले धनी त्यहाँका अभिभावकहरुले हामीलाई गरेको आत्मीय स्वागत र विदाईमा हल्लाइरहेका हातहरु मैले अझै बिर्सेको छैन । अप्ठेरो र साँघुरो बाटो, धुलोमैलो भएर पुग्नुपर्ने भए पनि साना साना बालबालिकाहरुको स्नेही स्वागत सम्झदा मलाई फेरि छिटोभन्दा छिटो सहयोग कार्यक्रम सहित त्यहाँ पुग्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ ।

– क्याक्लिङ, दलचोकी
Feedback: kapilnp2001@yahoo.com

Friday, October 30, 2009

गुणस्तरीय शिक्षाका लागि शैक्षिक बचत कार्यक्रम

– कपिल श्रेष्ठ, झिँगान, दोलखा

दोलखा जिल्लाको झिँगान गाविस सदरमुकाम चरिकोटबाट झण्डै १८ किलो मिटर पर रहेको छ । २०५१ सालसम्म यस गाविसमा कुनै पनि निजी वा सामुदायिक विद्यालयहरू थिएनन् । यहाँका बालबालिका झण्डै दुई घण्टा हिँडेर खरिढुङ्गाको सुर्के माध्यामिक विद्यालय पढ्न जान्थे । यति लामो बाटो दैनिक हिँडेर जाँदा बालबालिकालाई निकै समस्या पर्नुका साथै अनेकौँ दुर्घटना भएको अनुभव सुनाउँछन् गाउँलेहरू । त्यतिबेला विद्यालय जाने बालबालिकालाई कतिपटक खोलाले बगाएको र सडक दुर्घटनामा पर्ने गरेको प्रशस्त उदाहरणहरू छन् ।

स्थानीय जनतामा बढदै गएको शिक्षा सम्बन्धी चेतनाका कारण २०५१ सालमा स्थानीय गाउँलेकै पहलमा चन्दा संकलन गरेर सार्वजनिक जग्गामा सानो झुपडी निर्माण गरी प्रस्तावित कालिदेवी प्राथमिक विद्यालय स्थापना गरिएको थियो । यो विद्यालयको स्थापना पछि स्थानीय बालबालिकालाई पढन जान सजिलो मात्र भएन स्थानीयबासीले शिक्षाको महत्व पनि बुझ्दै गए ।

विद्यालय स्थापनासँगै विद्यार्थी संख्या दिनदिनै बढ्दै गयो र सँगसँगै शिक्षककको आवश्यकता पनि बढ्दै गयो । तर समुदायले सक्दो प्रयास गर्दा पनि सरकारी स्तरबाट शिक्षकको व्यवस्था हुन सकेन । समुदायको आफ्नो व्यवस्थापनमा हालसम्म जेनतेन चल्दै आएको यो विद्यालयलाई अहिले भने निकै समस्या परिरहेको छ । हालसम्म सरकारको आँखा पुग्न नसकेको यो विद्यालयका गरिब विद्यार्थीहरूलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विषयमा शिक्षकहरू पनि चिन्तित छन् ।

विद्यालयसँग भौतिक पूर्वाधारको नाममा एउटा मात्र पुरानो भवन छ । कक्षा पाँच सम्म पढाइ हुने यस विद्यालयमा जम्मा चारवटा कोठाहरू रहेका छन् र कार्यालय पनि विद्यार्थी पढने कक्षाकै एउटा कुनामा राखिएको छ । १५० भन्दा बढी विद्यार्थीहरू रहेको यस विद्यालयमा जम्मा चारजना शिक्षकहरूले बालबालिकालाई अँध्यारो कोठामा पढाउँदै आएका छन् । कक्षा कोठा समेत पर्याप्त नभएको यस विद्यालयमा अतिरिक्त क्रियाकलाप कक्ष र पुस्तकालयको त सम्भावना नै छैन ।

अँध्यारो कोठा, विद्यार्थीको अत्याधिक चाप र चिसो ठाउँका कारण विद्यार्थीहरूमा पढ्ने भन्दा पनि विद्यार्थीहरूलाई मानसिक रुपमा पीडित भएको प्रष्ट देख्न सकिन्छ । गाउँबाट लगभग आधा घण्टाको बाटो हिँडेर पुगिने यो विद्यालयका विद्यार्थीहरू दिउँसो खाजा खान घर गएपछि प्रायः जसो फर्कदैनन् । यसले गर्दा बीचमा कक्षा छोड्ने विद्यार्थीहरूको संख्या बढ्दै गएको बताउँछन् प्रधानाध्यापक दावा शेर्पा ।

यस गउँका अधिकांश अभिभावकहरूको मुख्य पेशा खेती किसानी हो । आफ्नो गुजाराका लागि कृषिमा व्यस्त रहने हुँदा उनीहरूको विद्यालय प्रति चासो घट्दै गएको महशुस गर्न सकिन्छ । यो गाविसका अधिकांश पुरुष अभिभावकहरू कोही कामको खोजीमा सदरमुकाम चरिकोट जान्छन् त कोही राजधानी जाने गरेका छन् । घरमा भएका महिला अभिभावकहरू गाउँले भेला र अन्य कार्यक्रममा उपस्थित हुने भए पनि आफ्नो कुरा प्रष्ट राख्न नसकेको देखिन्छ । विद्यालय समुदायको दायित्व हो र यसका लागि केही गर्नुपर्छ भन्ने भावना गाउँलेमा रहे पनि सही मार्गदर्शन दिने व्यक्तिको अभाव यो गाउँमा प्रष्ट देखिन्छ ।

गाउँमा विद्यालय भएपछि आफ्ना बालबालिकाहरूको पढाइ सुधार भएको छ तर विद्यालयको आर्थिक स्रोत नभएकाले योग्य शिक्षक तथा भौतिक पूर्वाधारको आवश्यकता रहेको विद्यालयका प्रधानअध्यापक दावा शेर्पा बताउँछन् । आफूहरूले धेरै दुःख गरेर विद्यालयलाई यहाँसम्म ल्याएपछि विद्यार्थी संख्या पनि बढेको तर आर्थिक अभावले विद्यालयलाई भवन अभाव रहेको तथा पर्याप्त शिक्षक राख्न नसकेको बताउँछन् विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हर्कबहादुर श्रेष्ठ । अष्ट्रेलियन स्वयंसेवक समुह कन्प्लान्टको आर्थिक सहयोगमा सनराइज एजुकेशन फाउण्डेशनले नेपालका विपन्न विद्यालयहरूमा सामुदायिक विद्यालय सुधार तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही कार्यक्रम अन्तर्गत सहयोगी साथी कृष्णओम थापासँग म दोलखा जिल्लामा कार्यक्रम सञ्चालित विद्यालयको अनुगमन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि गएको थिएँ ।

नयाँ विद्यालय खोजीको सिलसिलामा जिल्ला शिक्षा कार्यालयबाट यो विद्यालय अत्यन्तै पिछडिएको र जनजातीहरूको बाहुल्यता रहेको जानकारी पाइएको थियो । हामी त्यस विद्यालयमा पुग्दा हामीले सुनेका र देखेका कुराले मेल खाएपछि यो विद्यालयमा फाउण्डेशनले केही सहयोग गर्नुपर्छ र समुदायलाई विद्यालय प्रति उत्तरदायी कसरी बनाउन सकिन्छ भन्ने विषयमा फाउण्डेशन केन्द्रित भयो ।

विद्यालय सुधार तथा सहयोग कार्यक्रम तयार भएपछि समुदायलाई बुझाउन झण्डै तिन महिना समय लाग्यो । विद्यालयलाई आर्थिक रुपमा सहयोग होस् भनेर शैक्षिक बचत कार्यक्रमको अवधारणा लागू गरियो । बचत कार्यक्रम लागू भएपछि अभिभावकले पनि कार्यक्रमलाई हार्दिकता साथ स्वीकार गरे । जम्मा तीस जना सदस्यबाट सुरु गरिएको कालिदेवी सामुदायिक बचत समूहमा दिन प्रतिदिन सदस्य संख्या बढ्दै गएको छ साथै कोषको रकम पनि बढदै गएको छ । फाउण्डेशनले बचत समूहको स्थापनाका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

आगामी दिनमा समुदाय र विद्यालयलाई आर्थिक रुपमा अझै मजबुत बनाउने उद्देश्यले तरकारी खेती, बाख्रा पालन तथा साना उद्यम सञ्चालन गर्न फाउण्डेशन मार्फत विद्यालयलाई सहयोग गरिने र विद्यालयले समुदायलाई ऋण लगानी गर्ने योजना रहेको छ ।

e-mail: kapilnp2001@yahoo.com

Bookmark and Share

Thursday, October 29, 2009

आज हरिबोधिनी एकादशी

आज हरिबोधिनी एकादशी, हिन्दू धर्मअनुसार बर्षमा पर्ने २४ वटा एकादशी मध्ये सबैभन्दा ठूलो एकादशी एवम् महत्वपूर्ण एकादशी भएकोले यसलाई ठूलो एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशीको दिन आ-आफ्नो घरको आँगनमा रोपिएको तुलसीको आज विवाह गर्ने पर्बको रुपमा यस दिनको ठूलो महत्व छ ।

यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य फलदायी हुने धार्मिक विश्वास रहिआएको छ । आजको दिन चार नारायणको रुपमा परिचित भक्तपुरको चाँगु नारायण, हल्चोकको इचङ्गु नारायण, फर्पिङको शेषनारायण र ललितपुरको विशङ्खु नारायणको मन्दिरमा ठूलो मेला लागेको छ । बुढानिलकण्ठमा भने आजदेखि सुरु भएको मेला कात्तिक पूर्णिमासम्म चल्दछ । यसैगरी किर्तिपुरको मच्छेनारायणमा पनि आज मेला लागेको छ ।

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैका दिन उठ्नुहुने भएकोले यस दिनलाई हरिबोधनी एकादशी भन्ने गरिएको हो । विष्णु क्षीर सागरमा सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यताअनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, नवगृहप्रवेश आदि कार्य गरिँदैन । ज्योतिष मान्यताअनुसार माङ्गलिक कार्यका लागि चतुर्मास अर्थात् कात्तिक महिनाभरि मुहूर्त निस्कँदेन ।

Bookmark and Share

Wednesday, October 14, 2009

भाइटीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा


नेपाल पन्चाङ्ग निर्णायक समितिले यस बर्षको भाइटीका कात्तिक दुई गते भएको बताएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले ज्योतिषी, धर्मास्त्री, संस्कृतिविद्सँगको परामर्स तथा परम्परागत मान्यतालाई समेत आधार मानी निर्णय गरिएको बताएको छ । कात्तिक ३ गते मङ्गलबारका दिन मध्यान्हकालमा द्वितीय तिथि नपर्ने भएकाले सोमबार नै टीका लगाउनु शास्त्रसम्बत् हुने ज्यातिषीहरुको तर्क छ ।

समितिले भाइटीका लगाउने उत्तम साइत भने कात्तिक २ गते सोमबार मध्यान्ह ११ बजेर ५३ मिनेट जाँदा रहेको जनाएको छ । यमपञ्चकअन्तर्गत आगामी कात्तिक २ गते सोमबार बिहान १०: १० बजेपछि द्वितीया तिथि लाग्ने र भाइटीका पनि द्वितीया तिथिकै मध्यान्हनकालमा लगाउनुपर्ने धार्मिक मान्यता रहेको समितिले उल्लेख गरेको छ ।

Bookmark and Share

Tuesday, October 6, 2009

थप सहयोगको आशमा राउटे

– कपिल श्रेष्ठ, दुल्लु, दैलेख

राउटेहरु दैलेख जिल्लाको दुल्लु गाविस वडा न ८ मा रहेका हाडाचौर भन्ने स्थानामा सरेका छन् । चालिस घरधुरी रहेको राउटे बस्ती अत्यन्तै रमणीय स्थानमा रहेको छ । तर पनि यो वस्ती वरपर अन्य मानिसहरुको बस्ती छैन र राउटेहरुको बस्ती जंगलको बिच भागमा बसेका छन् ।

गएको दशैँ मनाउन राउटेहरु निकै उत्साहित थिए र उनीहरुले सकेसम्मको तयारी पनि गरेका थिए । यसपालीको दशैमा सरकारले मासिक रुपमा दिने भनिएको भत्ता नपाउदा राउटेहरुमा निराशा भने छाएको थियो । सरकारले सामाजिक सुरक्षा अन्तर्गत राउटेहरुलाई महिनाको एक हजार दिने भनिए पनि तीन महिना बित्न लाग्दासम्म अझै भत्ता नआएको बताए । सहयोगी कृष्ण ओम थापाका साथ म दुल्लु पुग्दा राउटेहरुले “दशै आयो तर बली दिनका लागि तयारी भएको छैन” भन्दै थिए । उक्त समयमा नजिकै आएको दशैँ अनि खानेकुराको समस्याले राउटेहरु सामग्रीको जोगाड गर्नका लागि गाउँमा आफूले बनाएका काठका भाडा, कोशी, मधुस र अन्य सामाग्री बेच्न र साटनमा व्यस्त थिए ।

काठका सामाग्री बनाउन आफूले चाहेको जस्तो काठ नपाउने र आफूले गर्ने शिकारहरु पनि नपाउदा उनीहरु अहिले चिन्तित अवस्थामा रहेका छन् । यूएनडीपी– साना अनुदान कार्यक्रम र कन्टेम्पोररी भिजनको सहयोगमा यसपालिको दशैका निम्ति राउटेहरुलाई चालिस हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । यो सहयोग पाएपछि राउटेहरुले दशैँका लागि केही राहत भएको भन्दै खुशी व्यक्त गरेका थिए । “सरकारको भत्ता पनि नपाउँदा दशैँ खल्लो होला भन्ने पीर परेको थियो तर यो सहयोगले मेरो जनता खुशी भएका छन् म पनि खुशी छु” राउटे मुखिया महिनबहादुर शाहीले भने ।

युएनडीपी– साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा कन्टेम्पोररी भिजनले कार्यान्वयन गर्दै आएको राउटे सहयोग कार्यक्रमको समयावधि अब पूरा भइसकेको जानकारी गराउँदा राउटे सहायक मुखिया ऐनबहादुर शाहीले “अब हामीहरु टुहुरा हुने भयो र अब हाम्रो हक र अधिकारका लागि कस्ले पहल गरिदिने” भन्दै दुःख व्यक्त गरे । यस कार्यक्रम अन्तर्गत हालसम्म राउटेहरुलाई खाद्यान्न तथा कपडा सहयोग, समुदायसँग अन्तरक्र्रिया कार्यक्रम, राउटे हक, अधिकारका लागि वकालत कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।

मुखिया महिनबहादुर शाहीले “यो कार्यक्रमले गर्दा हामीलाई बन जंगलमा घुमफिर गर्न र स्थानीय व्यक्तिहरुलाई कोशी, झुमा बेच्न सजिलो भएको थियो अब गारो हुन्छ” भन्दै मन खिन्न बनाएपछि सहयोगी साथी कृष्ण ओम थापा र मलाई पनि एकछिन नरमाइलो महसूस भयो । अरु दिनको तुलनामा आज राउटेहरु त्यति धेरै खुशी थिएनन् हामीलाई लाग्यो आज यो वस्तीमा कुनै सदस्य गम्भीर विरामी भएको वा मृत्यु भएको हुन सक्छ ।

राउटे युवाहरु भने दशैको जोगाडका लागि काठका सामाग्री निर्माणमा व्यस्त रहेका थिए । राउटे महिलाहरु धान, जौ, मकै सुकाउनमा व्यस्त थिए भने केटाकेटीहरु कोही खेल्नमा र कोही अभिभावकले गरेको कामको सिको गर्नमा व्यस्त थिए । एक हप्ताको बसाइ पश्चात हामीले राउटे मुखिया महिनबहादुर शाहीसँग बिदा माग्यौ । पहिला पहिला यसरी विदा माग्दा खुशी साथ विदा दिने मुखियाले आज भने “धेरै टाडाबाट आउनु भयो, दुः ख भयो तपाईहरुलाई । राम्रोसँग काठमाडौं जानुस् र सरकारबाट हाम्रो लागि थप सहयोग लिएर आउनुहोस् । हामी राउटेहरुलाई माया नमारिदिनुस्, मेरा जनताहरु तपाईहरुको आशमा बसिरहने छन्” भन्दै निकै परसम्म हामीलाई छोड्न आए ।

मुखियाको त्यो आग्रह पश्चात काठमाडौँ पुगेपछि सहयोगका लागि सरकार र सहयोगी संस्थाहरुसँग आग्रह गर्ने बाचा गर्दै सहयोगी मित्रका साथ म काठमाडौँ लागेँ । मनमा अझै एक किसिमको खुल्दुली छ– राउटेसँग भेटघाटको तीन वर्ष लामो सम्बन्ध अब यहीँ सकिने हो कि फेरि अर्को कार्यक्रम लिएर आउनुपर्ने हो ? राउटेहरुलाई फेरि सहयोग लिएर आउँछु भनेको मेरो वाचा पूरा हुने हो कि नहुने हो भन्ने सोचाइले मलाई निकै सताएको छ ।

e-mail: kapilnp2001@yahoo.com
Bookmark and Share

Saturday, September 19, 2009

दशैँको मंगलमय शुभकामना


विजया दशमी २०६६ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

Bookmark and Share

Thursday, September 17, 2009

पियूको दीक्षान्त समारोह भागडौडका वीच सम्पन्न


पूर्वाञ्चल विश्वविद्यालयको चौथो दिक्षान्त समारोह भागडौडका बीच भदौ २९ गते सम्पन्न भयो । विश्वविद्यालयसँग पहिले दिक्षान्त समारोह गरेको धेरै अनुभव नभएका कारण हरेक क्षेत्रमा गोलमाल र अव्यवस्था प्रष्ट देख्न सकिन्थ्यो । कलेजरोड स्थित भव्य सपिङ कम्प्लेक्समा पियूले भाडामा लिएका साना साना २ वटा कोठामा गाउन र ग्रेस नम्बर लिन आठ सय विद्यार्थीको भीड लागेको थियो । अत्यन्तै गर्मी, सानो कोठा र कर्मचारीको असहयोगी व्यवहारका कारण गएका अधिकांश विद्यार्थीहरु दुःखी थिए । लाइनमा बस्ने, व्यवस्थित सँग बाँडने भन्ने विषयमा कर्मचारीले कुनै चासो देखाएनन् ।

कार्यक्रम सम्पन्न भएको सहिद रंगशालामा पनि वाईसिएलका कार्यकर्ताले प्रधानमन्त्रीको कार्यक्रम बहिष्कारको आन्दोलन गरिरहेको हुँदा विद्यार्थीले सजिलै प्रवेश पाएनन् । प्रधानमन्त्री १०.३० मा आइपुग्ने भनिएको भए पनि ११ बजेसम्म मञ्च बनाउने, साउण्ड सिष्टम जोडने काम भइरहेको थियो । प्रधानमन्त्री आउने बेलामा वाइसिएलका कार्यकर्तालाई हटाउन गरिएको लाठिचार्जको जवाफमा रंगशालाको तीन तिरबाट उनीहरुले बर्षाएको ढुँगाबाट जोगिन उपस्थित सबै विद्यार्थीहरु टाउकोमा हात राखेर सुरक्षित स्थान खोज्दै दौडदै गरेको देख्न सकिन्थ्यो । झन् अश्रुग्याँस प्रहार गरिएपछि त विपरित दिशामा चलिरहेको हावाका कारण सबै अश्रुग्याँस दिक्षान्त कार्यक्रम भइरहेको रंगशालातिरै आएपछि उपस्थित सबै विद्यार्थीहरुमा भागाभाग मच्चिएको थियो । महिला र सानासाना बालबालिकाहरु रुदै भाग्दै गरेको देखिएको थियो । भाग्नलाई पनि रंगशालाबाट बाहिर भागे ढुंगा खाने डर, भित्र कता भाग्ने भएर विद्यार्थीहरु अलमलमा परेका थिए । अत्यन्तै चर्को घाम र गर्मीमा अश्रुग्याँस प्रहारपछि कतिपय विद्यार्थीहरु बान्ता गर्दै बेहोस भएका थिए ।

दिक्षान्त कार्यक्रम शुरु भएपछि पनि दिक्षान्त पुस्तकमा लेखिएको र कार्यक्रम नमिलेपछि विश्वविद्यालयका कुलपछि तथा प्रधानमन्त्री माधवकुमार नेपालले “यो विश्वविद्यालयको नयाँ अनुभव भएकाले यो कार्यक्रममा केही अस्पष्ट भएका छन्, म त्यसलाई प्रष्ट पार्ने कोशिश गर्छु,” भन्दै कसरी विद्यार्थीहरुको नाम घोषणा भएपछि उठेर परिचय दिने भनेर प्रधानमन्त्रीले सबैलाई सम्झाएका थिए । बोलाइएका विद्यार्थीलाई पनि उपाधि प्रदान गर्नुको सट्टा मञ्चमा एक चक्कर घुम्न मात्र लगाई प्रमाणपत्र पछि भीडमा ठेलाठेल गरी वितरण गरियो । वितरणमा पनि सबै विधाका विद्यार्थीलाई उत्कृष्ट पदक वितरण गरिएन । किन पदक वितरण नगरिएको भनेर सोध्दा विश्वविद्यालयको आफ्नै पदक नभएको र प्रायोजक माडवारी समूहले केही विधामा मात्र पदक दिएको हुँदा सोही विधामा मात्र पदक दिइएको बताइयो ।

कार्यक्रमको भोलिपल्ट गाउन फिर्ता बुझाउने बेलामा पनि त्यस्तै भीडभाड थियो । विहान ७ बजेदेखि गाउन फिर्ता लिने भनेर विद्यार्थीलाई बोलाइए पनि १० बजेसम्म कार्यालयको ढोका बन्दै थियो । त्यसपछि बैँक गएर पैसा झिकेर ल्याउँदा १०.३० बजेदेखि मात्र फिर्ता दिन सकिने बताइयो । यसरी छिट्टै गाउन फिर्ता गर्न पाए त्यही दिन काठमाडौँ फर्कन्छु भन्ने कतिपय विद्यार्थीले सो दिन फर्कन पाएनन् । गाउन फिर्ता दिन पनि त्यस्तै भिडभाड हुने देखेर विद्यार्थीहरु आफैले कागजमा नाम र क्रमसंख्या लेखेर लाइन व्यवस्थित बनाए । तर नाम र क्रमसंख्या लेख्न कागजको पान्न माग्दा पनि कर्मचारीले दिन मानेनन् ।

यसरी अव्यवस्था, भागाभाग, गर्मी र कर्मचारीसँग चर्काचर्कीबीच पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न भयो । कार्यक्रममा भाग लिने जो पनि विद्यार्थीले बेक्कारमा आएको, अब आउन नपरोस् र पियूलाई सिस्टम भन्ने केही थाहा रहेनछ भन्दै थिए । सँगैका साथीहरु लाइनमा पछि परेको कारण त्यो दिन काठमाडौँ फर्कन नसके पनि म भने सोही दिन ४ बजेको रात्रिसेवाबाट काठमाडौँ फर्केँ ।

Bookmark and Share

Saturday, September 12, 2009

पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोह भोलि

२०६६ भदौ १५ गते बिहानै सगरमाथा कलेजबाट शिव सरले फोन गरेर “तपाईले दिक्षान्तको फर्म किन नभरेको आज अन्तिम मिति हो” भन्नु भएपछि झल्यास्स सम्झे मैले सन् २००३ मा पास गरिसकेको स्नातकोत्तर तह समाजशास्त्रको दिक्षान्त समारोह बल्ल अहिले हुन थालेछ ।

मैले २००३ पछि लगभग २००५ सम्म त कलेजलाई र पूर्वाञ्चल विश्वविद्यालयलाई दिक्षान्त समारोह कहिले हुन्छ भनेर पटक पटक सोधिरहन्थेँ तर २ वर्ष वितेपछि सोध्न छोडिदिएँ । आज ५ वर्ष पछि खबर आउँदा म झस्किनु स्वाभाविक थियो । त्यसपछि १५ गते नै म कलेज गएर फर्म भर्ने काम सकेको थिएँ । दिक्षान्त समारोह कार्यक्रम भदौ २९ गते (सेप्टेम्बर १४) मा रहेछ । तर दशैँको समय, तराई बन्द भइरहने समस्याले पुग्न सकिन्छ कि सकिँदैन ठेगान थिएन । त्यही पनि २७ गतेको बसको टिकट लिएँ र २८ गते विहान म विराटनगर आइपुगँे ।

विराटनगरमा युनिभर्सिटी देखेको थिएन तर खोज्नलाई काठमाडौँबाट सँगै आउनुभएका मित्र सत्यजीत खनाल र विराटनगरस्थित उहाँका मित्र अजय मल्लिकले सहयोग गर्नुभयो । त्यसपछि युनिभर्सिटीमा पूरा गर्नुपर्ने सबै फर्मालिटि पूरा गरेपछि मैले ११ बजे दिक्षान्त गाउन, ग्रेस नम्बर र निमन्त्रणा पत्र पाएँ ।

अब भोलि १०.३० बजेदेखि दिक्षान्त समारोहको औपचारिक कार्यक्रम शुरु हुँदैछ । दिक्षान्त समारोहको निमन्त्रणा कार्ड अनुसार पूर्वाञ्चल विश्वविद्यालयको यो चौथो दिक्षान्त समारोह कार्यक्रम हो । कार्यक्रम शहिद रंगशाला विराटनगरमा २९ गते विहान १०.३० देखि शुरु हुनेछ । यस कार्यक्रमका मुख्य अतिथि Joensuu University, Finland, Department of Computer Science and Statistics का प्रमुख Prof. Dr. Erkki Allan Sutinen हुनु हुनेछ ।

कार्यक्रमको शुरुमा मण्डपमा दिक्षान्त प्रोशेसनको मंगलधुन सहित प्रवेश कार्यक्रम हुनेछ र क्रमशः उपकुलपछिबाट स्वागत, दिक्षान्त समारोहको आरम्भ, पदक वितरण, प्रमाणपत्र प्रदान, प्रमुख अतिथिबाट दिक्षान्त भाषण, कुलपतिबाट समारोहलाई सम्बोधन र समापन र अन्तमा मण्डपबाट प्रोशेसन फिर्ता कार्यक्रम हुनेछ ।

उक्त दिक्षान्त समारोहमा ५ वर्षपछि भए पनि सहभागी भई आफ्नो ब्याचको स्नातकोत्तर समाजशास्त्र विषयतर्फ उपाधि लिन पाउने कुराले म निकै खुशी भएको छु । तर मेरा ब्याचका साथीहरु जीवराज बुढाथोकी, ऋषिकेश बराल, सचिन घिमिरे, सुनिता श्रेष्ठ, परशुराम पुडासैनी, दिनेश साह, भुवन भट्टराई, तेजराज जोशी, सुनिल पौड्याल, सुभाष दिक्षित, दिपेन्द्रनाथ शर्मा, अमृत मानन्धर र प्रणय राई मध्ये धेरै जसो साथीहरु विदेशमा भएकाले मैले भोलि क–कसलाई दिक्षान्त समारोह स्थलमा भेट्छु भन्ने कौतुहलता मनमा छाइरहेको छ ।

– आदेश कर्माचार्य, कलेजरोड, विराटनगरबाट
Bookmark and Share

Thursday, September 10, 2009

आज सेप्टेम्बर ११



आजभन्दा आठ वर्ष पहिले वल्र्ड ट्रेड सेन्टरमा भएको हमलामा सेन्टरका २ हजार ६ सय ४ मानिस, पेन्टागनका १२५ जना, ४ वटा विमानका २४५ यात्रु मारिनुका साथै अझै सम्म २४ जना हराएको बताइएको छ । यसरी यो हमलामा जम्मा २ हजार ९ सय ७४ को मृत्यु र २४ जना वेपत्ता भएका थिए ।

आज सेप्टेम्बर ११, आज भन्दा ठिक ८ वर्ष अगाडि सेप्टेम्बर ११, २००१ मा अलकायदा समूहले अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा आजकै दिन हमला गरेको थियो । उनीहरुले हमलाका लागि अमेरिकी ४ वटा व्यावसायिक जेट प्लेनको अपहरण गरेका थिए । ती मध्ये २ वटा प्लेन न्यूयोर्क स्थित वल्र्ड ट्रेड सेन्टरमा ठोक्काएका थिए जसमा सबै यात्रु लगायत भवनमा कार्यरत हजारौँ कर्मचारीहरुको मृत्यु भएको थियो । साथै वरपरका कयौँ भवनहमा समेत आगलागी र क्षति भएको थियो । सेन्टरका दुईवटै भवन २ घण्टाभित्र खरानी भएका थिए। अपहरणकारीहरुले अर्को प्लेनलाई पेन्टागनमा ठोक्काउने उद्देश्यले लगेका थिए र चौथो प्लेन एउटा जंगलमा खसेको थियो । ती चार विमानमध्ये कुनै पनि विमानका यात्रुहरु बाँच्न सकेनन् ।

यो घटनामा कुल २ हजार ९ सय ९३ मानिसहरुको मृत्यु भएको थियो । तीमध्ये अधिकांश मानिसहरु सर्वसधारण नागरिक थिए जो अमेरिका लगायत विश्वका विभिन्न ९० देशका नागरिक थिए । यसका अलावा केही मानिसहरुको वल्र्ड ट्रेड सेन्टरमा भएको घटनापछि उडेको धुलो र धुँवाको कारणले स्वास प्रश्वास सम्बन्धी रोग लागेर मृत्यु भएको थियो ।

उक्त घटनामा पेन्टागनमा भएको क्षतिको एकवर्षभित्रै पुनर्निमाण गरिएको थियो भने वल्र्ड ट्रेड सेन्टरको नयाँ विल्डिङ बनाउने काम २०११ मा पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ । जुन संसारको अग्लामध्ये एक विल्डिङ हुनेछ । यसको लम्बाई १,७७६ फिट (५४१ मिटर) हुने बताइएको छ । यसका वरपर निर्माण गरिने अन्य टावरहरु २०१२ भित्र निर्माण पूरा गरिसक्ने बताइएको छ ।

केही फोटोहरु

Bookmark and Share






Tuesday, September 8, 2009

साक्षरता दिवसको शुभकामना

– आदेश कर्माचार्य

आज सेप्टेम्बर ८, अर्थात अन्त्रर्राष्ट्रिय साक्षरता दिवस । देश, राष्ट्र र विश्व नै आज भव्यताका साथ विश्व साक्षरता दिवस मनाइरहेको छ । युनेस्कोले सन् १९६५ मा आजको दिनलाई विश्व साक्षरता दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यो वर्षको साक्षरता दिवस अर्थात् अन्तर्राष्ट्रिय साक्षरता दिवस २००९ लाई युनेस्कोले “साक्षरताको शक्ति” अर्थात "The Power of Literacy", नाराका साथ मनाउने घोषणा गरेको थियो । जसले साक्षरताका कारण कसरी सहभागिता बढ्छ, कसरी नागरिक र सामाजिक विकासमा साक्षरताले मद्दत गर्छ भन्ने देखाउनेछ ।

युनेस्कोले आजको दिन अर्थात् साक्षरता दिवस मार्फत अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय साक्षरताको अवस्था र युवा सिकाइको अवस्था बारे जानकारी पनि दिन्छ । जसमा आज पनि विश्वका ५ मध्ये १ एक युवा अशिक्षित छ, त्यसको पनि दुई तिहाई भाग महिलाले ओगटछ । ७ करोड ५० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय जाँदैनन् । १९४६ मा युनेस्कोको स्थापनापछि देखि नै यसले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा शिक्षा सम्बन्धी विविध मुद्दामा कार्य गर्दै आएको छ । तथापि अझै पनि ७७ करोड ६० लाख भन्दा बढी युवाहरु शिक्षाको अवसरबाट बञ्चित भएको तथ्यांकले देखाउँछ । र, सबैका लागि शिक्षा दिने कुरा एउटा अत्यन्तै गाह्रो तर नगरी नहुने कार्य भएको छ ।

Bookmark and Share

Sunday, September 6, 2009

रक्त समूहले निर्धारण गर्छ मानिसको स्वभाव


तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।

Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

Group AB:-
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

Bookmark and Share

गरिब विद्यार्थीको गरिब विद्यालय

– कपिल श्रेष्ठ, काठमाडौं

रामकुमारी विश्वकर्मालाई सुविधा सम्पन्न विद्यालयमा पढ्ने रहर नभएको होइन । तर के गर्नु ? आर्थिक स्थिति कमजोर भएका कारण उनको रहर मनभित्रै गुम्सिएको छ । टाई बाँधेर स्कुल बसमा आफू जस्तै बालबालिका पढ्न गएको देखेर मन कुँडाउनेहरुको पंक्तिमा उनी एक्ली भने होइनन् । उनको विद्यालयका सबैजसो सहपाठीको उस्तै वेदना छ ।

राजधानीको केन्द्रमै रहे पनि भौतिक हिसाबले निकै दरिद्र देखिने रामकुमारीको विद्यालयको र उनको आर्थिक हैसियत समान झंै लाग्छ । काठमाडौं महानगरपालिका वडा नं. १० मा २०५२ सालमा खुलेको रुद्रमति प्राथमिक विद्यालयको अवस्था राजधानीको विद्यालयको जस्तो छैन । कुनै विकट पहाडी गाउँको विद्यालयको जस्तो हालत छ । त्यहाँ पढ्ने सबै बालबालिकाहरु स्थानीय बासिन्दाका नभई उपत्यका बाहिरबाट मजदूरी गर्न आउने मजदू र, सुकुम्बासी र घरेलु कामदारका छोराछोरी हुन् ।

आफ्ना बालबालिकालाई पढाउने अभिभावकहरु प्राय सबै गाउँबाट विभिन्न कारणले विस्थापित भई राजधानी प्रवेश गरेकाहरु छन् । बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना यी सबै अभिभावकलाई भए पनि बिहान बेलुकाको छाक टार्ने समस्याले पीडित यी मजदूरहरु आफ्ना बालबालिकालाई महँगो विद्यालय पढाउन नसक्ने बताउँछन् । नजिकैको ठूलो निजी विद्यालयतिर औँल्याउँदै अभिभावक कृष्णकुमारी भुजेल भन्छिन्–“आय स्रोत राम्रो भएको भए मेरो छोराछोरीलाई यहाँ होइन, ऊ त्यहाँ पढाउँथे ।”

सार्वजनिक विद्यालयका अभिभावकहरु पढाइको गुणस्तर राम्रो भएन भनी गुनासो गरे पनि विद्यालय गएर कहिल्यै सोधखोज गर्दैनन् । रुद्रमति प्राविकी प्रधानाध्यापिक मञ्जु श्रेष्ठका अनुसार छोराछोरीले विद्यालय गएर कति सिक्यो, कति पढ्यो वा पढेन भन्ने चासो लिने अभिभावक यो विद्यालयमा छैनन् । त्यसो त अभिभावक पनि यो कुरा स्वीकार्छन् । धनकुटा जिल्लाबाट मजदूरी गर्न काठमाडौँ आएकी अभिभावक मनमायाँ थापा मगर भन्छिन्, “आफूलाई विहान भात खाएपछि बेलुका के खाने भन्ने समस्याले पिरोलिसक्छ, के को बच्चाले पढ्यो÷पढेन भन्ने चिन्ता लिनु ?” सर्लाहीबाट मजदूरी गर्न काठमाडौँ आएका अर्का एक अभिभावक रामबहादुर विश्वकर्माको आफ्नै कथा छ ! भन्छन्, “ज्यामी कामबाट दिनको सयदेखि एकसय चालीस रुपैयाँसम्म कमाउँछु । त्यतिले ६ जनाको परिवार पाल्न नै धौधौ पर्छ । छोराछोरीको लागि चाहिने कापी, कलम र विद्यालय पोशाक कसरी किन्ने ?”

अभिभावक पनि गरिब छन्, भौतिक हिसाबले विद्यालय त्यत्तिकै दरिद्र छ । विद्यालयको एकमात्र भवनमा पर्याप्त डेस्क–बेञ्च छैनन् । विद्यालयको ढोका पुरानो टीनबाट बनेको छ र बालबालिकालाई खेल्नका लागि मैदान र खेलकुद सामग्री छैनन् । तीन कक्षामा अध्ययनरत रामकुमारी बिश्वकर्मा भन्छिन्, “विद्यालयमा खाने पानी समेत छै्रन । अझै विद्यालयमा शौचालय नभएकोले हामीलाई दिसा–पिसाब गर्न समेत विद्यालय छोडी अन्यत्र जानुपर्दा पढाइमा बाधा पुगेको छ ।”

सरकारले सबै विद्यालयमा खानेपानी र शौचालय निर्माणका लागि भनेर बजेट छुट्याएको छ तर यो विद्यालयमा ती सुविधा छैनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनाथ तिमिल्सिना भौतिक पूर्वाधारको कमी र अन्य कमजोरीका कारण आफूहरु सम्भ्रान्त अभिभावकहरुबाट हेपिनुपरेको तीतो अनुभव सुनाउँछन् । उनी भन्छन्, “भौतिक र व्यवस्थापकीय अस्तव्यस्तता देखेर होला छिमेकी धनी अभिभावकहरु यो विद्यालयलाई खातेहरुले पढ्ने विद्यालय भनी नाक खुम्च्याउँछन् ।”

शिक्षा मन्त्रालय, विद्यालय प्रशासन महाशाखाका प्रमुख रामप्रसाद बस्याल एउटा प्राथमिक विद्यालय सञ्चालन गर्नका लागि यसका न्यूनतम भौतिक पूर्वाधारहरु हुनु जरुरी भएको बताउँछन् । उनको भनाइमा, एउटा प्राथमिक विद्यालयमा स्वच्छ पिउने पानी, शौचालयको व्यवस्था, विज्ञान प्रयोगशाला, बालबालिकाका लागि खेल्ने सामग्री र खेल्नका लागि प्रशस्त मैदान हुनु जरुरी छ । उनी थप्छन्, “खेलकुदबाट पनि बालबालिकाहरुले धेरै कुरा सिक्ने गर्छन् । अझै शारीरिक र मानसिक विकासका लागि खेलकुद अनिवार्य छ ।” रुद्रमति प्राविमा यीमध्ये कुनै पनि सुविधा छैन । प्रधानाध्यापिका मञ्जु श्रेष्ठ भन्छिन्, “विद्यालयलाई चाहिने पाठ्यपुस्तक लगायत पुस्तकालय र अन्य खेलकूद सामग्री, खेल मैदान केही पनि छैन । शिक्षक दरबन्दी कम भएको कुरा बारम्बार जिल्ला शिक्षा कार्यालयमा उजुरी गर्दा पनि हालसम्म कुनै सुनुवाई भएको छैन ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनाथ तिमिल्सिना वेदना थप्छन्, “सरकारी अनुदानको अपुग, आर्थिक सहयोगको कमी र गरीव तथा दलित छात्रछात्राहरुको बाहुल्यता भएको विद्यालयमा भौतिक सुविधा थप गर्न गाह्रो भएको बताउँछन् । तिमिल्सिना भन्छन्, “अभिभावकहरु केही योगदान गर्न सक्षम छैनन् । विद्यालयमा अध्यननरत विद्यार्थीका अभिभावकहरु सबै निम्न आय भएका छन् ।” सामान्यतया दूषित ढल तथा फोहोरमैलाभन्दा मानव आवास क्षेत्र टाढा हुनु जरुरी छ । तर रुद्रमति प्रावि धोवीखोलाको किनारैमा अवस्थित हुँदा त्यहाँको प्रदूषित हावापानी बालबालिकाका लागि उपयुक्त नभएको विज्ञहरु बताउँछन् ।

त्रिचन्द्र सैनिक अस्पतालका फिजिशियन डा. पविता राई यस्तो फोहोरमैला र दुर्गन्ध फैलिएको क्षेत्रमा मलेरिया, झाडापखाला जस्ता महामारी रोग लाग्ने सम्भावना रहने बताउँछिन् । फोहोर वातावरण र प्रदूषित हावापानीको बीचमा बस्दा विद्यार्थीको शारीरिक मात्र होइन मानसिक असर समेत पर्ने सम्भावना रहन्छ । डा. राई भन्छिन्, “यदि यस्तो फोहोरमैला र प्रदूषित हावापानी भएको क्षेत्रमा जानुप¥यो भने पनि मास्कको प्रयोग गर्नुपर्छ । र, यस्तो स्थानमा लगातार लामो समयसम्म बसिराख्नु पनि हुँदैन ।”

Bookmark and Share

छिट्टै नेपालमा पनि आइपी टिभी

टेलिकमको लक्ष्यअनुसार काम हुन सके आउँदो एक वर्षभित्र तारवाला टेलिफोनका उपभोक्ताले केबुल टिभीसमेत प्रयोग गर्न पाउने छन्। त्यसपछि अहिले जस्तो टेलिफोन, केबुल टिभी र इन्टरनेटका लागि छूट्टाछूट्टै तार प्रयोग गर्नूपर्ने छैन।

नेपाल टेलिकमले टेलिफोनको तारबाट टेलिफोनमात्र नभै इन्टरनेट र केबुल टिभीसमेत दिने प्रविधि ल्याउन लागेको हो। एक वर्ष अघिदेखि यस्तो प्रविधिको चर्चा भए पनि टेलिकमले उपकरण किन्न हालै सुचना प्रकाशित गरेको छ।

अहिले टेलिफोनको तारबाट एडिएसएल प्रविधिबाट इन्टरनेट चल्छ। तर, केबुल टिभी भने चलिसकेको छैन।

एनजिएनअर्न्तगत वितरण हुने इन्टरनेट अहिलेको एडिएसएल दाँजोमा सस्तो र द्रूतगतिको हुन्छ।

'नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन)' भनिने यस्तो प्रविधि ल्याउन टेलिकमले काम सूरु गरिसकेको छ। 'हामीले उपकरण किन्न टेण्डर आव्हान गरिसकेका छौं,' टेलिकमका नायव प्रवन्ध निर्देशक अनुपरन्जन भट्टराईले भने।

टेलिकमले चारलाख लाइन एनजीएन किन्ने योजना बनाएको छ। यसका लागि तीनदेखि चार करोड अमेरिकी डलर खर्च हुने अनुमान छ। 'बढीमा चार करोड डलर खर्च हुने अनुमान गरिएको छ,' भट्टराईले भने।

एनजीएनको मुल्य अन्तर्राष्ट्रिय बजारमा छोटो समयमै तलमाथि भैरहने हूँदा टेलिकमले अनुमान गरेको यो मुल्यभन्दा अझै सस्तोमा पनि पाउनसक्छ।

टेलिकमको लक्ष्यअनुसार काम भए एक वर्षभित्र काठमाडौंबासीले एउटै तारबाट तीन किसिमको सेवा लिन सक्ने छन्। अहिले टेलिकमले तारबाट टेलिफोन र इन्टरनेट सेवा दिइरहेको छ। केबुल टिभीसमेत टेलिफोनको तारबाट प्रशारण गरेर ग्राहकका घरसम्म पूर्‍याउन निजी कम्पनीसँग 'सेयरिङ' गर्ने प्रस्ताव गरिएको छ।

टेलिफोनको तारबाट केबुल टिभी दिन दूई विदेशी कम्पनीले चासो देखाएका छन्। यसका लागि चीनको जेडटीई र अमेरिकाको यूटिस्टार कम्पनीले केही महिना अघि टेलिकमलाई प्रस्ताव बुझाएको स्रोत बताउँछ।

टेलिफोनको तारबाट प्रसारण हुने केबुल टिभीलाई आइपी (इन्टरनेट प्रोटोकल टिभी) भनिन्छ। यस अर्न्तगत लाइभ र रेकर्डेड टेलिभिजन कार्यक्रमसमेत ग्राहक कहाँ पूर्‍याउने तयारी सूरु गरेको हो।

भारतमा दुरसञ्चार सेवा प्रदायक कम्पनी एअरटेलले गत माघ पहिलो सातादेखि आइपी टिभी सूरु गरेको छ। एअरटेलले टेलिफोन तारबाटै एक सय च्यानल टिभी सेटसम्म पूर्‍याइरहेको छ। सूरुको चरण भएकाले शूल्क च्यानलको संख्याअनुसार कम्तिमा ६ सय देखि १ हजार भारतीय रुपियाँसम्म तोकिएको छ।

Bookmark and Share

Wednesday, September 2, 2009

फेसबुक प्रयोग गर्ने विद्यार्थीको जीपीए नगर्नेको भन्दा कम


कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये फेसबुक प्रयोग गर्ने विद्यार्थीहरुको कुल औसत अंक (जीपीए) फेसबुकको सदस्य नभएका वा प्रयोग नगर्ने विद्यार्थीहरुको तुलनामा निकै कम हुने अध्ययनले देखाएको छ ।

ओहियो स्टेट युनिभर्सिटीका पीएचडीका विद्यार्थी अरेन कारपिन्स्की र उनका सहयोगी ओहियो डोमिनिकन युनिभर्सिटीका एडम डबरस्टेइनले गरेको एक अध्ययनमा फेसबुकको नियमित प्रयोगकर्ताको औसत अंक यसको सदस्य नभएका विद्यार्थीहरुको तुलनामा निकै कम आउने गरेको देखिएको छ । फेसबुकको हालसम्म विश्वभर २०० मिलियन अर्थात लगभग २० करोड सदस्यहरु छन् । “वास्तवमा अधिकांश विद्यार्थीहरु जो दैनिक फेसबुक प्रयोग गर्छन् उनीहरुले आफ्नो पढाइ र समयको एक ठूलो हिस्साको बर्वाद गर्छन् ।” अनुसन्धानकर्ताहरुले भनेका छन् ।

अनुसन्धानकर्ता कारपिन्स्कीले भनेका छन्, “हाम्रो अध्ययनले के देखाउँछ भने फेसबुक प्रयोग गर्ने विद्यार्थीले आफ्नो कुल समयको बढी समय फेसबुकमा र कम समयमात्र पढाइमा खर्चने गर्छ । फेसबुक प्रयोग गर्नु हरेक वर्ग र पुस्ताको एउटा बानी बनिसकेको छ, तर मलाई लाग्छ फेसबुक एउटा गजवको सत्य तथ्य हो ।”

यो अध्ययनको रिपोर्ट अमेरिकन एजुकेशन रिसर्च एशोसियसनमा २००९ अप्रिल १६ मा बुझाइएको थियो । उक्त अध्ययन २१९ ग्राजुयट गरिसकेका र ग्राजुयट नगरेका विद्यार्थीहरुमा गरिएको थियो जसमा फेसबुक प्रयोग गर्नेको जीपीए नगर्नेहरुभन्दा निकै कम भएको देखिएको थियो । उक्त अध्ययनमा फेसबुक प्रयोग गर्नेको जीपीए दर ३.० देखि ३.५ मात्र देखिएको थियो भने प्रयोग नगर्नेको जीपीए ३.५ देखि ४.० देखिएको थियो । यसको मुख्य कारण फेसबुक प्रयोग गर्नेहरु साथीहरुको ठूलो सञ्जालमा आवद्ध हुने हुँदा बढी समय खर्च हुने र प्रयोग नगर्नेहरुको सञ्जाल सानो हुने हुँदा बढी समय पढाइमा लगाउन सकिने बताइएको छ ।

Bookmark and Share

Tuesday, September 1, 2009

समुदायको सक्रियतामा लोडसेडिङमुक्त गाउँ

– आदेश कर्माचार्य, राकम, कर्णाली

नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश मानिन्छ । यस हिसाबले नेपालमा खानेपानी, विद्युत र सिँचाईको प्रशस्त सुविधा हुनुपर्ने हो । तर सरसर्ती हेर्दा पनि नेपालका खेती योग्य जमिनको लगभग एक चौथाई जमिनमा पनि सिँचाईको सुविधा छैन । त्यसैगरी राजधानी लगायत देशका हरेक स्थानमा खानेपानीको अभाव छ । दूषित खानेपानीका कारण नेपालमा बर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गर्छन् । विश्वमै नेपालमात्रै यस्तो देश होला जहाँ वर्षाको समयमा समेत विद्युतको अभावले लोडसेडिङ हुने गर्छ । अझै नेपालमा दैनिक २० घण्टा सम्म लोडसेडिङ भएको उदाहरण छ ।

तर नेपालको मध्यपश्चिम क्षेत्रमा पर्ने विकट ठाउँ राकम, कर्णालीमा कहिल्यै पनि लोडसेडिङ भएन । यहाँका बासिन्दाहरुको आफ्नै पहलमा सञ्चालित विद्युतउत्पादन गृहले राकम वरपरका लगभग २०० घरपरिवारलाई बत्ती बाल्न पुग्ने विजुली उत्पादन गरेको छ । त्यो पनि कर्णाली या कुनै ठूलो नदीबाट होइन, राकम हुँदै बग्ने सानो खोलाबाट यहाँ बिजुली निकालिएको छ । यहाँ विजुलीको दुरुपयोग गरिँदैन, विजुलीबाट यहाँ बत्ती मात्र बाल्न पाइन्छ । र, बत्ती पनि कम विजुली खपत गर्ने सिएफएल चीम मात्र प्रयोग गर्न दिइन्छ ।

नेपालका अधिकांश भागमा राकमको जस्तो हजारौँ खोलानालाहरु छन् । तर ती खोलानालाबाट बिजुली निकाल्न सकिएको छैन । राकमका स्थानीय बासिन्दा झैँ अन्य स्थानका बासिन्दामा पनि स्थानीय स्रोत साधनको उपयोग गर्न आफै अघि सर्नुपर्छ भन्ने चेतना आइदिएमा गाउँ गाउँमा बिजुली बत्तीको उज्यालो पुग्ने थियो होला ।

तस्विरः आदेश कर्माचार्य
Bookmark and Share

Sunday, August 30, 2009

ईंट्टाको भारीले थिचेको भविष्य

– आदेश कर्माचार्य । कपिल श्रेष्ठ, भक्तपुर

दाङ जिल्लाका चिन्तामणि के.सी. मुखैमा आएको एसएलसी परिक्षा छाडेर भक्तपुरको इँटाभट्टामा काम गर्न बाध्य भए । कारण, मुलुकमा चलेको हिंसा प्रतिहिंसाको अन्त्यहीन श्रृंखला । गत सालको एसएलसी परीक्षाको तयारी गरिरहेकै बेला माओवादीले आफ्नो सेनामा भर्ती हुन विद्यालयमै आएर उर्दी जारी गरेपछि चिन्तामणि केसी भागेर भक्तपुर आएका थिए । चिन्तामणि भन्छन्, “काम नगरी खान पाइदैंन पढेर मात्र के गर्नु ? दे शमा शान्ति छायो भने फेरि विद्यालय गएर दश कक्षादेखि नै पढ्छु ।”

चिन्तामणिको घरमा खाने, लाउने समस्या त थिएन । तर पनि माओवादीले जहिले पनि विद्यालयमा आएर कार्यक्रम गर्ने, कार्यक्रममा सँगै लिएर जाने, सेनामा भर्ना हुन उर्दी जारी गर्न थालेपछि उनी भागेर भक्तपुर आइपुगेका थिए ।

काभ्रेकी भगवती रञ्जिताले पढाई छोड्नमा चाहिं फरक कारण छ । उनको घरको कमजोर आर्थिक अवस्थाकै कारण केही समय पहिले भक्तपुरमा ईंट्टा बोक्न आएकी थिइन् । १४ वर्षीया भगवतीले इँटा भट्टामा ठूला व्यक्तिले सरह नै काम गर्नुपर्छ । भगवती भन्छिन्, “एक पटकमा इँटाभट्टामा २२ वटासम्म इँटा बोक्नुपर्छ ।” पढ्ने उमेरमा उनलाई यो भार किन बोक्नुप¥यो ? उनी उल्टै प्रश्न गर्छिन्, “आफ्नो घरमा खानको लागि अन्न र लुगा, कपडा नभएपछि कसरी पढ्नु ?” सँगैका साथीहरु पिठ्यूँमा झोलाभरी किताब र कापी बोकेर विद्यालय जाँदा उनलाई पनि विद्यालय जान मनलाग्छ । तर, इँटाभट्टामा दिनभरी माटोसँग खेल्नुपर्ने उनको आफ्नै बाध्यता छ ।

गरिबीकै कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुको सट्टा आफूसँगै इँटाभट्टामा काम गराउन ल्याएका छन् । सिन्धुपाल्चोक, छहरेकी कान्छीमायाँ तामाङ भन्छिन्, “छोराछोरीलाई पनि सँगै ल्याए आफूलाई काम पनि सघाउँछ । अलिअलि भए पनि पैसा पनि कमाउँछ । त्यसैले मैले पनि आफ्ना एक छोरा र तीनवटी छोरीलाई सँगै ल्याएकी छु ।”

इँट्टा बोक्ने र माटो मुछ्ने काममा व्यस्त इँट्टाभट्टाका बालबालिका कसैले आफूलाई पढाइदिए पढ्ने इच्छा भएको बताउँछन् । सल्यान जमकोट गाविस घर भएका १३ वर्षीय जससिंह कुँवर इँट्टाभट्टामा काम गर्नु आफ्नो रहर नभई बाध्यता भएको बताउँछन् । उनी भन्छन्, “बिहान उठेदेखि बेलुका आँखाले देखुन्जेलसम्म इँट्टा बोक्नुभन्दा त कसैले घरमा काम गर्न राखेर पढाइदिएहुन्थ्यो ।” उनी आफूलाई इँटाभट्टामा काम गर्नुपर्दा साह्रै नरमाइलो लागेको बताउँछन् ।

माघ महिनाको चिसो मौसम भए पनि इँट्टाभट्टामा काम गर्ने सबै मजदुरहरु आफ्नो खलामा बनाइएको काँचो इँट्टाको छाप्रोमा बस्छन् । चिसो भुइँ अनि काँचो इँट्टाको छाप्रोमा बस्ने यी बालमजदुरहरु एक दिन आफ्नो भविष्य फेरिने विश्वासमा छन् । इँट्टाभट्टा ठेकेदार भने बालबालिकालाई अरु केही सुविधा दिन नसके पनि बस्नलाई निःशुल्क छाप्रो उपलब्ध गराएको बताउँछन् । इँट्टा उत्पादन समितिका अध्यक्ष विश्वराम कवाङ्गका अनुसार भक्तपुर जिल्लामा मात्र अहिले ९२ वटाभन्दा बढी इँट्टाभट्टा सञ्चालनमा रहेका छन् । यति धेरै इँट्टाभट्टामा कति बालबालिका काम गर्छन् भन्ने तथ्यांक समितिसँग छैन । यी इँट्टाभट्टामा माटो खन्ने, मुछ्ने, इँट्टा बोक्ने, पोल्ने लगायतका काम गर्ने धेरैजसो बालमजदुरहरु छन् ।

पैसा कमाउने सपना देखेर इँट्टाभट्टामा काम गर्न आउने बालबालिकाले मुश्किलले काम पाउने ६ महिना मात्र हो । इँट्टा बनाउने मौसम भनेको मंसिरको पहिलो हप्तादेखि बैशाखसम्म मात्र हो । त्यतिबेलासम्ममा यी बालमजदुरहरुले विद्यालय पनि छाडिसकेका हुन्छन् र रोजगारविहीन पनि हुन पुग्छन् । इँट्टाभट्टामा बिहानदेखि बेलुकीसम्म काम गर्दा यी बालबालिकाले मुश्किलले महिनाको दुईदेखि तीन हजारसम्म कमाउँछन् । भगवती रञ्जिता भन्छिन्, “महिनाभरी काम गर्दा जम्मा तीनहजार रुपैयाँ पाइन्छ ।” जससिंह कुँवर आफूले महिनाभरी काम गर्दा दुई हजारसम्म कमाइ हुने बताउँछन् । उनी भन्छन्, “आफूले कमाएको त्यही दुई हजारले गाउँमा आफ्नो परिवार पालिएको छ ।”

इँट्टाभट्टा ठेकेदारहरुका अनुसार यहाँ काम गर्ने बालबालिकाहरु १ देखि ५ सम्म पढेका र बीचैमा पढाइ छाडेर आएकाहरु बढी छन् । केही बालबालिका भने ६ महिना इँट्टा बोक्छन् र जाँच दिने बेलामा मात्र विद्यालय जान्छन् । तर यसरी परीक्षा मात्र दिन जाने बालमजदुरहरु प्रायः असफल हुने गरेको बताउँछन् । पढाइ छोडेर इँट्टाभट्टा आएकामध्ये धेरैजसो गरिबीका कारणले आएको बताउँछन् भने बाँकी देशमा चर्केको द्वन्द्वबाट विस्थापित भएकाहरुको परिवार र छोराछोरीहरु छन् । यहाँ काम गर्ने धेरैजसो बालबालिकाहरु रोल्पा, दाङ, काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका रहेका छन् । उनीहरु सबै द्वन्द्व र गरिबीकै कारण आफूहरुले पढाइ छाड्नुपरेको बताउँ छन् ।

यहाँ काम गर्नेमध्ये रोल्पाका मजदुरहरु इँट्टा बोक्नमा नाम कमाएका छन् भने काभ्रेका मजदुरहरु पत्थरीको काम गर्न सिपालु रहेको इँट्टाभट्टा सञ्चालकहरु बताउँछन् । यहाँ काम गर्ने प्रायः बालबालिकाहरु १२ देखि १४ वर्षसम्मका रहेका छन् । उनीहरुको आफूले कमाएको पैसा घर नपठाउने हो भने घरमा खानकै समस्या भएको बताउँछन् ।

– शिक्षा लेख सँगालो (वर्ष २, अंक १९, २०६१ फागुन)का लागि तयार पारिएको
Bookmark and Share

Friday, August 28, 2009

समुदायको पहलमा सञ्चालित नमुना विद्यालय

– आदेश कर्माचार्य, सिंहासैन, दैलेख


समुदाय कम्मर कसेर लाग्यो भने गाउँको शिक्षामा क्रान्ति आउन सक्छ भन्ने उदाहरण बनेको छ दैलेख जिल्लाको विकट सिंहासैन गाविसको कालिका माध्यामिक विद्यालय । यस गाविसमा प्राथमिक विद्यालय सञ्चालनका लागि २०२४ सालमै स्वीकृति पाएको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा २०४५ सालसम्म विद्यालय सञ्चालन हुन सकेको थिएन । विद्यालय सञ्चालनका लागि समुदायको सक्रियता बढेपछि स्थानीय बासिन्दा दूधकला शाहीले विद्यालयका लागि ५४५ वर्गमिटर जग्गा निःशुल्क दिनुभएको थियो । सोही जग्गामा सानो टहरा बनाई एक शिक्षकबाट २०४५ सालदेखि विद्यालय शुरु गरेको बताउनुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धीरबहादुर शाही ।

विद्यालय सञ्चालन पछि पनि जनतामा चेतनाको कमीले गर्दा बालबालिका पढन आएनन् । त्यसपछि घरघर गई बालबच्चालाई विद्यालय पठाउन अनुरोध गर्दै नपठाए मासिक ५ रुपैयाँ जरिवाना गर्छौ भनी विद्यार्थी ल्याएको सम्झनुहुन्छ निवर्तमान गाविस अध्यक्ष नवराज शाही । २०४५ सालमा सुरु भएको प्राथमिक विद्यालयलाई कक्षा बढाउँदै लानुपर्ने आवश्यकता देखिएपछि २०५६ सालमा निमावि प्रस्तावित गरी विद्यालय सञ्चालन भयो र २०६३ देखि मावि प्रस्ताव गरी पढाइ सुरु गरियो । प्राथमिक विद्यालय मात्र स्वीकृति पाएको ठाउँमा माविसम्म सञ्चालन गर्दा विद्यालयलाई आर्थिक संकट पर्न थाल्यो । समुदायमा विद्यालय हस्तान्तरण गरेपछि शिक्षक कोटा र अन्य सहयोग पाइने हुँदा २०६५ देखि विद्यालय समुदायमा हस्तान्तरण गरेको बताउनुहुन्छ व्यवस्थापन समितिका अध्यक्ष शाही ।

स्थानीय आवश्यकता अनुसार निमावि र मावि प्रस्ताव गरी पठन पाठन सञ्चालन गरिए पनि सम्बन्धित निकायबाट हालसम्म मावि सञ्चालनको स्वीकृति नपाएको बताउनुहुन्छ विद्यालयका प्रधानाध्यापक दिपेन्द्रबहादुर शाही । २०५६ सालको संसदीय निर्वाचनमा दैलेखबाट शिवराज जोशी विजयी हुनुभएपछि सिंहासैनका बालबालिका माविको अभावमा शिक्षाबाट बञ्चित हुनुपरेको र टाढा पढन जानुपरेको हुँदा मावि स्वीकृतिको पहल गरिदिन अनुरोध गर्दा आफ्नो गाउँ सातालामा त स्वीकृत गराउन सकेको छैन सिंहासनमा कहाँ हुन्छ ? भन्ने गैरजिम्मेवार उत्तर दिएको दुःखेसो गर्नुहुन्छ निवर्तमान गाविस अध्यक्ष शाही ।

विद्यालय निमावि सम्म मात्र सञ्चालन भएको बेला यहाँका केही बालबालिका ४ घण्टा पैदल हिँडेर कालिका मावि तिलेपाटासम्म पढन जान्थे भने अधिकांशले पढाइ नै छाड्थे । त्यसपछि स्थानीय बुद्धिजीवी र शिक्षकहरूको पहलमा मावि प्रस्तावित गरी सञ्चालन गरेको बताउनुहुन्छ व्यवस्थापन समितिका अध्यक्ष धीरबहादुर शाही । हाल यस विद्यालयमा ७ जना शिक्षक शिक्षिकाको तलव समुदायले व्यहोर्दै आएको छ । यसका लागि वार्षिक ३ लाख ६० हजार भन्दा बढी खर्च हुने गर्छ । ती सबै रकम समुदायको सहयोग र विभिन्न योजना तथा एनजीओ÷आईएनजीओको सहयोगबाट व्यहोर्दै आएको छ । विद्यालयका अन्य काम र भवन निर्माण आदि जनश्रमदानबाट हुने गरेको छ ।

यस विद्यालयमा विद्यार्थीलाई कुनै पनि शुल्क लाग्दैन । एक साल विद्यार्थीबाट परिक्षा शुल्क लिँदा विद्यार्थी संख्या घटेको सम्झँदै व्यवस्थापन समितिका अध्यक्ष शाही भन्नुहुन्छ “विद्यार्थीबाट परिक्षा शुल्क सम्म पनि लिदैनौँ ।” सिंहासैन गाविसको कालिका मावि यस गाविसका लागि मात्र नभई वरपरका अन्य गाविसका लागि पनि पायक पर्ने स्थानमा छ । यस विद्यालयमा वरपरको पिपलकोट गाविस, तिलेपाटा गाविस, विशाला गाविस र अछाम जिल्लाको कालेडाँडा गाविससम्मका विद्यार्थीहरू पढन आउँछन् ।

यो विद्यालय वरपरको गाविसको मात्र पायक विद्यालय होइन, वरपरका माविहरूको समेत पायक पर्ने विद्यालय हो । त्यसैकारण यहाँ जतिसक्दो छिटो उच्च मावि सञ्चालन गर्नु आवश्यक भएको बताउनुहुन्छ प्रधानाध्यापक शाही । यो विद्यालय वरपरका चार वटा माविहरू गणेश मावि रोल, पशुपति मावि छेपाडी, दिप मावि तोलिचाखा र कालिका मावि पिपलकोटको केन्द्रमा पर्छ । तसर्थ यसैवर्ष देखि उमावि सञ्चालन गर्ने योजना रहेको बताउनुहुन्छ व्यवस्थापन समितिका अध्यक्ष शाही ।

निर्वाचित प्रतिनिधिहरूको असहयोग र जिल्ला शिक्षा कार्यालयको बेवास्ताले गर्दा हाल यो विद्यालय आर्थिक अभावबाट गुज्रिरहेको छ । शिक्षकहरूले कम तलवमा काम गरिदिनुभएको भए पनि विद्यालयमा हालसम्म कम्प्युटर छैन, जग्गा थप गर्नुपर्ने छ, भवनको अभाव छ, तारवार छैन, खेलकुद सामग्रीको अभाव छ । भएको एउटा भवन पनि पुरानो भई भत्किएपछि कक्षा १ र २ का बालबालिकाहरू चौरमा रूखमुनि बसी पढ्छन् । १० कक्षा सम्म पढाइ हुने यस विद्यालयमा हाल कार्यालय कोठा समेत गरी जम्मा ९ वटा कोठा मात्र छन् । तर पनि २०६४ को एस.एल.सी. परिक्षामा यहाँबाट ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा आफूलाई गर्व लागेको बताउनुहुन्छ प्रधानाध्यापक शाही ।

Bookmark and Share