१९ मंसिर, काठमाडौं । सगरमाथा घोषणापत्र जारी गर्दै इतिहासमै पहिलोपटक सगरमाथा आधारशिविरमा मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । १० बुँदे घोषणापत्रमा दक्षिणएसियाली लगायत सबै पक्ष राष्ट्रहरुसँग हिमाली क्षेत्रको संरक्षणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
पर्वतीय पर्यावरणलाई संरक्षण गर्ने क्रममा संरक्षित क्षेत्रलाई बिस्तार गरी नेपालको हालको २० प्रतिशत संरक्षण क्षेत्रलाई २५ क्षेत्रमा पुर्याउने र वन क्षेत्र ४० प्रतिशतलाई सुदृढ गर्ने घोषणा गरेको छ । यसैगरी विकसित राष्ट्रले कूल गार्हस्थ उत्पादनको कम्तीमा एक दशमलब ५ प्रतिशत ‘जलवायु अनुकूलन कोष’मा योगदान गर्ने प्रस्तावमा नेपालले समर्थन जनाएको छ ।
मानव कृयाकलापबाट जलवायु परिवर्तनबाट भयावह स्थिति सृजना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० पीपीएम भन्दा घटी हुन नहुने र पृथ्युको सतहको औसत तापक्रम १ दशमलब ५ सेन्टि्रग्रेड भन्दा नगर्न हरित गृह ग्याँस उत्सर्जनकर्ता राष्ट्रहरुलाई आग्रह गरेको छ ।
डेनमार्कको कोपनहेगनमा आगामि शनिबारबाट सुरु हुने जलवायु परिवर्तन सम्वन्धी १५ औं शिखर सम्मेलनमा पनि १ दशमलब ५ सेन्टि्रग्रेड तापक्रम सम्बन्धि मुद्दा मुख्य एजेण्डा छ ।
आधारशिविर कालापत्थरमा ५ हजार २ सय ४२ मिटरको उचाइमा करिब आधा घण्टा बैठक बसी स्याङ्गबोचेमा फर्केर पत्रकार सम्मेलन गरिएको थियो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले कोपन हेगनमा हुने विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आधारपत्रलाई बैठकले अन्तिम रुप दिएको जानकारी दिनुभयो ।
यसैगरी डिसेम्बर ११ तारिकमा डेनमार्कको कोपनहेगनमा पर्वतारोहीहरुको सम्मेलनमा नेपालका पर्बतारोहीबाट पेश हुने ‘सेभ हिमालया’ नामको घोषणापत्र पनि बैठकले जारी गरेको छ । सम्मेलनमा सहभागी हुन ३० जना नेपाली पर्वतारोही जानेछन् ।
सुदूरपश्चिमको दार्चुला जिल्लाका २१ गाविस समेटेर संरक्षण क्षेत्र घोषणा गरेको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जलाई नयाँ राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ । स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।
बैठकमा सहभागि हुन विहीबारै लुक्ला पुगेका प्रधानमन्त्री माधबकुमार नेपालसहित २४ मन्त्रीहरु आज विहान कालापत्थर पुगेका थिए । विहीबार लुक्लामा बसेका सबै सदस्यहरु आज विहान नेपाली सेनाको एम आई हेलिकोप्टरबाट स्याङ्बोचे हुँदै कालापत्थर पुगेका हुन् । कालापत्थर प्रस्थान गर्नुअघि स्याङ्बोचेमा मन्त्रीपरिषद्का सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधबकुमार नेपालले विश्वसमुदायलाई जलवायु परिवर्तनबारे चेतना जगाउन बैठक महत्वपूर्ण भएको बताउनु भयो । सबैभन्दा बढि कार्बन उत्सर्जन गरिरहेका राष्ट्रहरुले जलवायु परिवर्तनविरुद्धको अभियानमा सबैभन्दा बढी त्याग गर्नुपर्ने बताउनुभयो ।
विभिन्न अन्तर्राष्ट्रिय एनजीओहरुको सहयोगमा आयोजित बैठकको समाचार प्रसारण गर्न देशी, विदेशी गरी ७५ जना भन्दा बढि संचारकर्मीहरुको टोली पनि स्याङ्बोचे पुगेका थिए । मौसम अनुकूल नभएकाले सबै सहभागी शुक्रबार काठमाण्डौ आउन सकेनन् ।
No comments:
Post a Comment