Sunday, August 30, 2009

ईंट्टाको भारीले थिचेको भविष्य

– आदेश कर्माचार्य । कपिल श्रेष्ठ, भक्तपुर

दाङ जिल्लाका चिन्तामणि के.सी. मुखैमा आएको एसएलसी परिक्षा छाडेर भक्तपुरको इँटाभट्टामा काम गर्न बाध्य भए । कारण, मुलुकमा चलेको हिंसा प्रतिहिंसाको अन्त्यहीन श्रृंखला । गत सालको एसएलसी परीक्षाको तयारी गरिरहेकै बेला माओवादीले आफ्नो सेनामा भर्ती हुन विद्यालयमै आएर उर्दी जारी गरेपछि चिन्तामणि केसी भागेर भक्तपुर आएका थिए । चिन्तामणि भन्छन्, “काम नगरी खान पाइदैंन पढेर मात्र के गर्नु ? दे शमा शान्ति छायो भने फेरि विद्यालय गएर दश कक्षादेखि नै पढ्छु ।”

चिन्तामणिको घरमा खाने, लाउने समस्या त थिएन । तर पनि माओवादीले जहिले पनि विद्यालयमा आएर कार्यक्रम गर्ने, कार्यक्रममा सँगै लिएर जाने, सेनामा भर्ना हुन उर्दी जारी गर्न थालेपछि उनी भागेर भक्तपुर आइपुगेका थिए ।

काभ्रेकी भगवती रञ्जिताले पढाई छोड्नमा चाहिं फरक कारण छ । उनको घरको कमजोर आर्थिक अवस्थाकै कारण केही समय पहिले भक्तपुरमा ईंट्टा बोक्न आएकी थिइन् । १४ वर्षीया भगवतीले इँटा भट्टामा ठूला व्यक्तिले सरह नै काम गर्नुपर्छ । भगवती भन्छिन्, “एक पटकमा इँटाभट्टामा २२ वटासम्म इँटा बोक्नुपर्छ ।” पढ्ने उमेरमा उनलाई यो भार किन बोक्नुप¥यो ? उनी उल्टै प्रश्न गर्छिन्, “आफ्नो घरमा खानको लागि अन्न र लुगा, कपडा नभएपछि कसरी पढ्नु ?” सँगैका साथीहरु पिठ्यूँमा झोलाभरी किताब र कापी बोकेर विद्यालय जाँदा उनलाई पनि विद्यालय जान मनलाग्छ । तर, इँटाभट्टामा दिनभरी माटोसँग खेल्नुपर्ने उनको आफ्नै बाध्यता छ ।

गरिबीकै कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुको सट्टा आफूसँगै इँटाभट्टामा काम गराउन ल्याएका छन् । सिन्धुपाल्चोक, छहरेकी कान्छीमायाँ तामाङ भन्छिन्, “छोराछोरीलाई पनि सँगै ल्याए आफूलाई काम पनि सघाउँछ । अलिअलि भए पनि पैसा पनि कमाउँछ । त्यसैले मैले पनि आफ्ना एक छोरा र तीनवटी छोरीलाई सँगै ल्याएकी छु ।”

इँट्टा बोक्ने र माटो मुछ्ने काममा व्यस्त इँट्टाभट्टाका बालबालिका कसैले आफूलाई पढाइदिए पढ्ने इच्छा भएको बताउँछन् । सल्यान जमकोट गाविस घर भएका १३ वर्षीय जससिंह कुँवर इँट्टाभट्टामा काम गर्नु आफ्नो रहर नभई बाध्यता भएको बताउँछन् । उनी भन्छन्, “बिहान उठेदेखि बेलुका आँखाले देखुन्जेलसम्म इँट्टा बोक्नुभन्दा त कसैले घरमा काम गर्न राखेर पढाइदिएहुन्थ्यो ।” उनी आफूलाई इँटाभट्टामा काम गर्नुपर्दा साह्रै नरमाइलो लागेको बताउँछन् ।

माघ महिनाको चिसो मौसम भए पनि इँट्टाभट्टामा काम गर्ने सबै मजदुरहरु आफ्नो खलामा बनाइएको काँचो इँट्टाको छाप्रोमा बस्छन् । चिसो भुइँ अनि काँचो इँट्टाको छाप्रोमा बस्ने यी बालमजदुरहरु एक दिन आफ्नो भविष्य फेरिने विश्वासमा छन् । इँट्टाभट्टा ठेकेदार भने बालबालिकालाई अरु केही सुविधा दिन नसके पनि बस्नलाई निःशुल्क छाप्रो उपलब्ध गराएको बताउँछन् । इँट्टा उत्पादन समितिका अध्यक्ष विश्वराम कवाङ्गका अनुसार भक्तपुर जिल्लामा मात्र अहिले ९२ वटाभन्दा बढी इँट्टाभट्टा सञ्चालनमा रहेका छन् । यति धेरै इँट्टाभट्टामा कति बालबालिका काम गर्छन् भन्ने तथ्यांक समितिसँग छैन । यी इँट्टाभट्टामा माटो खन्ने, मुछ्ने, इँट्टा बोक्ने, पोल्ने लगायतका काम गर्ने धेरैजसो बालमजदुरहरु छन् ।

पैसा कमाउने सपना देखेर इँट्टाभट्टामा काम गर्न आउने बालबालिकाले मुश्किलले काम पाउने ६ महिना मात्र हो । इँट्टा बनाउने मौसम भनेको मंसिरको पहिलो हप्तादेखि बैशाखसम्म मात्र हो । त्यतिबेलासम्ममा यी बालमजदुरहरुले विद्यालय पनि छाडिसकेका हुन्छन् र रोजगारविहीन पनि हुन पुग्छन् । इँट्टाभट्टामा बिहानदेखि बेलुकीसम्म काम गर्दा यी बालबालिकाले मुश्किलले महिनाको दुईदेखि तीन हजारसम्म कमाउँछन् । भगवती रञ्जिता भन्छिन्, “महिनाभरी काम गर्दा जम्मा तीनहजार रुपैयाँ पाइन्छ ।” जससिंह कुँवर आफूले महिनाभरी काम गर्दा दुई हजारसम्म कमाइ हुने बताउँछन् । उनी भन्छन्, “आफूले कमाएको त्यही दुई हजारले गाउँमा आफ्नो परिवार पालिएको छ ।”

इँट्टाभट्टा ठेकेदारहरुका अनुसार यहाँ काम गर्ने बालबालिकाहरु १ देखि ५ सम्म पढेका र बीचैमा पढाइ छाडेर आएकाहरु बढी छन् । केही बालबालिका भने ६ महिना इँट्टा बोक्छन् र जाँच दिने बेलामा मात्र विद्यालय जान्छन् । तर यसरी परीक्षा मात्र दिन जाने बालमजदुरहरु प्रायः असफल हुने गरेको बताउँछन् । पढाइ छोडेर इँट्टाभट्टा आएकामध्ये धेरैजसो गरिबीका कारणले आएको बताउँछन् भने बाँकी देशमा चर्केको द्वन्द्वबाट विस्थापित भएकाहरुको परिवार र छोराछोरीहरु छन् । यहाँ काम गर्ने धेरैजसो बालबालिकाहरु रोल्पा, दाङ, काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका रहेका छन् । उनीहरु सबै द्वन्द्व र गरिबीकै कारण आफूहरुले पढाइ छाड्नुपरेको बताउँ छन् ।

यहाँ काम गर्नेमध्ये रोल्पाका मजदुरहरु इँट्टा बोक्नमा नाम कमाएका छन् भने काभ्रेका मजदुरहरु पत्थरीको काम गर्न सिपालु रहेको इँट्टाभट्टा सञ्चालकहरु बताउँछन् । यहाँ काम गर्ने प्रायः बालबालिकाहरु १२ देखि १४ वर्षसम्मका रहेका छन् । उनीहरुको आफूले कमाएको पैसा घर नपठाउने हो भने घरमा खानकै समस्या भएको बताउँछन् ।

– शिक्षा लेख सँगालो (वर्ष २, अंक १९, २०६१ फागुन)का लागि तयार पारिएको
Bookmark and Share

6 comments:

  1. हेलो कपिल जी, राम्रो लेख लेख्नुभएछ । बधाइ छ ।
    – दिपेन

    ReplyDelete
  2. Kati sundar lekhan ho. Lekhak dubai jana lai dhayabad cha. Feri feri pani yesti article padna paiyos la...

    Suresh Ranabhat

    ReplyDelete
  3. Report is very good. Why you do not join in main stream media ?
    Basanta Rai

    ReplyDelete
  4. Suresh ranabhat kahan rahe6 ra email adress k ho ?

    ReplyDelete
  5. Good article but it does not goes with tourism. Your site is in "Rural tourism".
    This comment is not bout the article. It is about the site. Please make clear what type of site is this. Ananda Ghimire abi_ghimire@hotmil.com

    ReplyDelete