कसैमाथि अपशब्द प्रयोग गरी गालीगलौज तथा हातपात गर्नुभयो’ भने अब तपाईं कानुनी सजायको भागिदार मात्र होइन, जिन्दगीभर आपराधिक व्यक्तिहरूको आरोपित समूहमा सूचीकृत हुनुहुनेछ ।
त्यसैले अपराधविरुद्धको अभियानमा आफूलाई पनि सहभागी गराई बेलैमा अभियुक्त तथा आपराधिक समूहको सूचीबाट जोगिन सजग हुनुहोस् । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले अबदेखि अभियुक्त तथा अपराधी आरोप लागेकाहरू सबैको तथ्याङ्क इन्टरनेटमा राख्ने भएको छ ।
महाशाखाका प्रमुख रणबहादुर चन्दका अनुसार अपशब्द प्रयोग गरी गालीगलौज गर्नेदेखि धम्की दिने र हातपात गर्नेहरू सबै कानुनको भागिदार हुने भएकाले त्यस्ता व्यक्तिको ‘वायोडाटा’ सर्वसाधारणको जानकारीका लागि इन्टरनेटमा राख्ने तयारी भएको हो । कानुनविपरीत कार्य गर्ने सबै अपराधी हुन्, यस्ता व्यक्तिलाई सचेत तुल्याउन ‘बायोडाटा’ सूचीकृत गर्न लागिएको उहााले स्पष्ट पार्नुभयो ।
कुन पनि व्यक्तिले जीवनका विभिन्न कालखण्डमा के कस्ता अभियोगहरूको सामना गर्नुपर्यो ? र, कुन प्रकृतिको अपराध गरेबापत कति वर्ष जेल जीवन बिताउनुपर्यो ? लगायतका घटना विवरणसमेत इन्टरेटमा राखिनेछन्, यस कार्यका लागि सूचनाप्रविधि शाखा स्थापना भइसकेको छ- महाशाखा प्रमुख चन्दले भन्नुभयो ।
सर्वसाधारणले शङ्का लागेमा कुनै व्यक्तिको नाम तथा थर टाइप गरेर सो व्यक्ति संलग्न भएको अपराधका घटनाको विवरण सजिलैसाग प्राप्त गर्न सक्नेछन् । यस कार्यलाई सम्पन्न गर्न महाशाखाले दक्ष कम्प्युटर इन्जिनियरहरू तथा अपराध विज्ञहरूसाग छलफल र सहकार्य गरी कार्यक्रम अगाडि बढाइसकेको छ ।
सरकारले हाल लागू गरेको विशेष सुरक्षा कार्यक्रम-२०६६ लाई सफल र प्रभावकारी तुल्याउन यो कार्यक्रम उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ । विशेषगरी उपत्यकामा हुने गरेका अपराधजन्य गतिविधिमा संलग्न व्यक्ति तथा समूहको सूचीकृत गर्ने कार्य भइरहेको महाशाखाले जनाएको छ ।
कानुनले समेत आपराधिक ठहर्याएका व्यक्तिहरूको इन्टरनेटमा तीनपुस्ते इतिहास नै समेटिनेछ भने अन्य अभियुक्तहरूको नाम, उमेर, ठेगाना र अन्य क्रियाकलापहरू समेट्ने योजना रहेको महाशाखा प्रमुख चन्दले बताउनुभएको छ । इन्टरेटमा राखेको यो व्यक्तिगत बायोडाटाबाट आवश्यक परेमा सर्वसाधारण स्वयंले समेत आफू र आफन्तमाथि लागेका अभियोगका सम्बन्धमा समेत जान्न र बुझ्न पाउने छन् ।
यसरी सर्वसाधारणले समेत हेर्न पाउने गरी अभियुक्त तथा अपराधीहरूको सूची इन्टरनेटमा राख्दा कानुनविपरीत काम गर्ने सम्पूर्ण व्यक्तिको पहिचान हुनुका साथै आपराधिक क्रियाकलाप नगर्न र नगराउने कार्यप्रति सचेत तुल्याउन सहयोग पुग्ने विश्वास प्रहरीको रहेको छ ।
आफ्नो घर तथा टोलछिमेकमा आपराधिक व्यक्ति बसिरहेका त छैनन् भन्ने कुराको सूचना दिनका साथै त्यस्ता व्यक्तिप्रति सचेत हुन यो अभियान लाभदायक हुने विश्वास प्रहरीले गरेको छ ।
करिब तीस लाख जनसङ्ख्या रहेको उपत्यकामा सबै व्यक्ति अपराधी नभएको तथ्य प्रस्तुत गर्दै चन्दले हजारमा एक जना आपराधिक मनस्थितिको हुने गरेको जानकारी दिनुभयो ।
‘त्यस्तो व्यक्ति कुन ठाँउमा बस्छ र के काम गर्छ भन्ने कुराको जानकारी लिन तथा पक्राउमा सहयोग गर्न ‘इन्टरनेट सेवा’ फलदायी हुने देखिन्छ’, उहाँ भन्नुहुन्छ- ‘पब्लिक-प्रहरी पार्टनरसीप’ कार्यक्रमलाई सफल पार्न मद्दत पुग्छ । अपहरण, चोरी डकैती र लुटपाटजस्ता घटनामा संलग्नहरूलाई पक्राउ गर्न सकिन्छ ।
उपत्यकामा हिजोआज चिनजानका व्यक्तिबाट नै छिमेक तथा आफन्तको घरमा यस्तै किसिमका अपराधका घटनाहरू हुन थालेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख गणेश केसीले राजधानीमा बसोवास गर्ने व्यक्तिहरूको पुनः फोटोसहित तथ्याङ्क राख्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
– गोरखापत्र दैनिकबाट
Monday, December 28, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment