Friday, October 30, 2009

गुणस्तरीय शिक्षाका लागि शैक्षिक बचत कार्यक्रम

– कपिल श्रेष्ठ, झिँगान, दोलखा

दोलखा जिल्लाको झिँगान गाविस सदरमुकाम चरिकोटबाट झण्डै १८ किलो मिटर पर रहेको छ । २०५१ सालसम्म यस गाविसमा कुनै पनि निजी वा सामुदायिक विद्यालयहरू थिएनन् । यहाँका बालबालिका झण्डै दुई घण्टा हिँडेर खरिढुङ्गाको सुर्के माध्यामिक विद्यालय पढ्न जान्थे । यति लामो बाटो दैनिक हिँडेर जाँदा बालबालिकालाई निकै समस्या पर्नुका साथै अनेकौँ दुर्घटना भएको अनुभव सुनाउँछन् गाउँलेहरू । त्यतिबेला विद्यालय जाने बालबालिकालाई कतिपटक खोलाले बगाएको र सडक दुर्घटनामा पर्ने गरेको प्रशस्त उदाहरणहरू छन् ।

स्थानीय जनतामा बढदै गएको शिक्षा सम्बन्धी चेतनाका कारण २०५१ सालमा स्थानीय गाउँलेकै पहलमा चन्दा संकलन गरेर सार्वजनिक जग्गामा सानो झुपडी निर्माण गरी प्रस्तावित कालिदेवी प्राथमिक विद्यालय स्थापना गरिएको थियो । यो विद्यालयको स्थापना पछि स्थानीय बालबालिकालाई पढन जान सजिलो मात्र भएन स्थानीयबासीले शिक्षाको महत्व पनि बुझ्दै गए ।

विद्यालय स्थापनासँगै विद्यार्थी संख्या दिनदिनै बढ्दै गयो र सँगसँगै शिक्षककको आवश्यकता पनि बढ्दै गयो । तर समुदायले सक्दो प्रयास गर्दा पनि सरकारी स्तरबाट शिक्षकको व्यवस्था हुन सकेन । समुदायको आफ्नो व्यवस्थापनमा हालसम्म जेनतेन चल्दै आएको यो विद्यालयलाई अहिले भने निकै समस्या परिरहेको छ । हालसम्म सरकारको आँखा पुग्न नसकेको यो विद्यालयका गरिब विद्यार्थीहरूलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विषयमा शिक्षकहरू पनि चिन्तित छन् ।

विद्यालयसँग भौतिक पूर्वाधारको नाममा एउटा मात्र पुरानो भवन छ । कक्षा पाँच सम्म पढाइ हुने यस विद्यालयमा जम्मा चारवटा कोठाहरू रहेका छन् र कार्यालय पनि विद्यार्थी पढने कक्षाकै एउटा कुनामा राखिएको छ । १५० भन्दा बढी विद्यार्थीहरू रहेको यस विद्यालयमा जम्मा चारजना शिक्षकहरूले बालबालिकालाई अँध्यारो कोठामा पढाउँदै आएका छन् । कक्षा कोठा समेत पर्याप्त नभएको यस विद्यालयमा अतिरिक्त क्रियाकलाप कक्ष र पुस्तकालयको त सम्भावना नै छैन ।

अँध्यारो कोठा, विद्यार्थीको अत्याधिक चाप र चिसो ठाउँका कारण विद्यार्थीहरूमा पढ्ने भन्दा पनि विद्यार्थीहरूलाई मानसिक रुपमा पीडित भएको प्रष्ट देख्न सकिन्छ । गाउँबाट लगभग आधा घण्टाको बाटो हिँडेर पुगिने यो विद्यालयका विद्यार्थीहरू दिउँसो खाजा खान घर गएपछि प्रायः जसो फर्कदैनन् । यसले गर्दा बीचमा कक्षा छोड्ने विद्यार्थीहरूको संख्या बढ्दै गएको बताउँछन् प्रधानाध्यापक दावा शेर्पा ।

यस गउँका अधिकांश अभिभावकहरूको मुख्य पेशा खेती किसानी हो । आफ्नो गुजाराका लागि कृषिमा व्यस्त रहने हुँदा उनीहरूको विद्यालय प्रति चासो घट्दै गएको महशुस गर्न सकिन्छ । यो गाविसका अधिकांश पुरुष अभिभावकहरू कोही कामको खोजीमा सदरमुकाम चरिकोट जान्छन् त कोही राजधानी जाने गरेका छन् । घरमा भएका महिला अभिभावकहरू गाउँले भेला र अन्य कार्यक्रममा उपस्थित हुने भए पनि आफ्नो कुरा प्रष्ट राख्न नसकेको देखिन्छ । विद्यालय समुदायको दायित्व हो र यसका लागि केही गर्नुपर्छ भन्ने भावना गाउँलेमा रहे पनि सही मार्गदर्शन दिने व्यक्तिको अभाव यो गाउँमा प्रष्ट देखिन्छ ।

गाउँमा विद्यालय भएपछि आफ्ना बालबालिकाहरूको पढाइ सुधार भएको छ तर विद्यालयको आर्थिक स्रोत नभएकाले योग्य शिक्षक तथा भौतिक पूर्वाधारको आवश्यकता रहेको विद्यालयका प्रधानअध्यापक दावा शेर्पा बताउँछन् । आफूहरूले धेरै दुःख गरेर विद्यालयलाई यहाँसम्म ल्याएपछि विद्यार्थी संख्या पनि बढेको तर आर्थिक अभावले विद्यालयलाई भवन अभाव रहेको तथा पर्याप्त शिक्षक राख्न नसकेको बताउँछन् विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हर्कबहादुर श्रेष्ठ । अष्ट्रेलियन स्वयंसेवक समुह कन्प्लान्टको आर्थिक सहयोगमा सनराइज एजुकेशन फाउण्डेशनले नेपालका विपन्न विद्यालयहरूमा सामुदायिक विद्यालय सुधार तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही कार्यक्रम अन्तर्गत सहयोगी साथी कृष्णओम थापासँग म दोलखा जिल्लामा कार्यक्रम सञ्चालित विद्यालयको अनुगमन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि गएको थिएँ ।

नयाँ विद्यालय खोजीको सिलसिलामा जिल्ला शिक्षा कार्यालयबाट यो विद्यालय अत्यन्तै पिछडिएको र जनजातीहरूको बाहुल्यता रहेको जानकारी पाइएको थियो । हामी त्यस विद्यालयमा पुग्दा हामीले सुनेका र देखेका कुराले मेल खाएपछि यो विद्यालयमा फाउण्डेशनले केही सहयोग गर्नुपर्छ र समुदायलाई विद्यालय प्रति उत्तरदायी कसरी बनाउन सकिन्छ भन्ने विषयमा फाउण्डेशन केन्द्रित भयो ।

विद्यालय सुधार तथा सहयोग कार्यक्रम तयार भएपछि समुदायलाई बुझाउन झण्डै तिन महिना समय लाग्यो । विद्यालयलाई आर्थिक रुपमा सहयोग होस् भनेर शैक्षिक बचत कार्यक्रमको अवधारणा लागू गरियो । बचत कार्यक्रम लागू भएपछि अभिभावकले पनि कार्यक्रमलाई हार्दिकता साथ स्वीकार गरे । जम्मा तीस जना सदस्यबाट सुरु गरिएको कालिदेवी सामुदायिक बचत समूहमा दिन प्रतिदिन सदस्य संख्या बढ्दै गएको छ साथै कोषको रकम पनि बढदै गएको छ । फाउण्डेशनले बचत समूहको स्थापनाका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

आगामी दिनमा समुदाय र विद्यालयलाई आर्थिक रुपमा अझै मजबुत बनाउने उद्देश्यले तरकारी खेती, बाख्रा पालन तथा साना उद्यम सञ्चालन गर्न फाउण्डेशन मार्फत विद्यालयलाई सहयोग गरिने र विद्यालयले समुदायलाई ऋण लगानी गर्ने योजना रहेको छ ।

e-mail: kapilnp2001@yahoo.com

Bookmark and Share

Thursday, October 29, 2009

आज हरिबोधिनी एकादशी

आज हरिबोधिनी एकादशी, हिन्दू धर्मअनुसार बर्षमा पर्ने २४ वटा एकादशी मध्ये सबैभन्दा ठूलो एकादशी एवम् महत्वपूर्ण एकादशी भएकोले यसलाई ठूलो एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशीको दिन आ-आफ्नो घरको आँगनमा रोपिएको तुलसीको आज विवाह गर्ने पर्बको रुपमा यस दिनको ठूलो महत्व छ ।

यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य फलदायी हुने धार्मिक विश्वास रहिआएको छ । आजको दिन चार नारायणको रुपमा परिचित भक्तपुरको चाँगु नारायण, हल्चोकको इचङ्गु नारायण, फर्पिङको शेषनारायण र ललितपुरको विशङ्खु नारायणको मन्दिरमा ठूलो मेला लागेको छ । बुढानिलकण्ठमा भने आजदेखि सुरु भएको मेला कात्तिक पूर्णिमासम्म चल्दछ । यसैगरी किर्तिपुरको मच्छेनारायणमा पनि आज मेला लागेको छ ।

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैका दिन उठ्नुहुने भएकोले यस दिनलाई हरिबोधनी एकादशी भन्ने गरिएको हो । विष्णु क्षीर सागरमा सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यताअनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, नवगृहप्रवेश आदि कार्य गरिँदैन । ज्योतिष मान्यताअनुसार माङ्गलिक कार्यका लागि चतुर्मास अर्थात् कात्तिक महिनाभरि मुहूर्त निस्कँदेन ।

Bookmark and Share

Wednesday, October 14, 2009

भाइटीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा


नेपाल पन्चाङ्ग निर्णायक समितिले यस बर्षको भाइटीका कात्तिक दुई गते भएको बताएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले ज्योतिषी, धर्मास्त्री, संस्कृतिविद्सँगको परामर्स तथा परम्परागत मान्यतालाई समेत आधार मानी निर्णय गरिएको बताएको छ । कात्तिक ३ गते मङ्गलबारका दिन मध्यान्हकालमा द्वितीय तिथि नपर्ने भएकाले सोमबार नै टीका लगाउनु शास्त्रसम्बत् हुने ज्यातिषीहरुको तर्क छ ।

समितिले भाइटीका लगाउने उत्तम साइत भने कात्तिक २ गते सोमबार मध्यान्ह ११ बजेर ५३ मिनेट जाँदा रहेको जनाएको छ । यमपञ्चकअन्तर्गत आगामी कात्तिक २ गते सोमबार बिहान १०: १० बजेपछि द्वितीया तिथि लाग्ने र भाइटीका पनि द्वितीया तिथिकै मध्यान्हनकालमा लगाउनुपर्ने धार्मिक मान्यता रहेको समितिले उल्लेख गरेको छ ।

Bookmark and Share

Tuesday, October 6, 2009

थप सहयोगको आशमा राउटे

– कपिल श्रेष्ठ, दुल्लु, दैलेख

राउटेहरु दैलेख जिल्लाको दुल्लु गाविस वडा न ८ मा रहेका हाडाचौर भन्ने स्थानामा सरेका छन् । चालिस घरधुरी रहेको राउटे बस्ती अत्यन्तै रमणीय स्थानमा रहेको छ । तर पनि यो वस्ती वरपर अन्य मानिसहरुको बस्ती छैन र राउटेहरुको बस्ती जंगलको बिच भागमा बसेका छन् ।

गएको दशैँ मनाउन राउटेहरु निकै उत्साहित थिए र उनीहरुले सकेसम्मको तयारी पनि गरेका थिए । यसपालीको दशैमा सरकारले मासिक रुपमा दिने भनिएको भत्ता नपाउदा राउटेहरुमा निराशा भने छाएको थियो । सरकारले सामाजिक सुरक्षा अन्तर्गत राउटेहरुलाई महिनाको एक हजार दिने भनिए पनि तीन महिना बित्न लाग्दासम्म अझै भत्ता नआएको बताए । सहयोगी कृष्ण ओम थापाका साथ म दुल्लु पुग्दा राउटेहरुले “दशै आयो तर बली दिनका लागि तयारी भएको छैन” भन्दै थिए । उक्त समयमा नजिकै आएको दशैँ अनि खानेकुराको समस्याले राउटेहरु सामग्रीको जोगाड गर्नका लागि गाउँमा आफूले बनाएका काठका भाडा, कोशी, मधुस र अन्य सामाग्री बेच्न र साटनमा व्यस्त थिए ।

काठका सामाग्री बनाउन आफूले चाहेको जस्तो काठ नपाउने र आफूले गर्ने शिकारहरु पनि नपाउदा उनीहरु अहिले चिन्तित अवस्थामा रहेका छन् । यूएनडीपी– साना अनुदान कार्यक्रम र कन्टेम्पोररी भिजनको सहयोगमा यसपालिको दशैका निम्ति राउटेहरुलाई चालिस हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । यो सहयोग पाएपछि राउटेहरुले दशैँका लागि केही राहत भएको भन्दै खुशी व्यक्त गरेका थिए । “सरकारको भत्ता पनि नपाउँदा दशैँ खल्लो होला भन्ने पीर परेको थियो तर यो सहयोगले मेरो जनता खुशी भएका छन् म पनि खुशी छु” राउटे मुखिया महिनबहादुर शाहीले भने ।

युएनडीपी– साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा कन्टेम्पोररी भिजनले कार्यान्वयन गर्दै आएको राउटे सहयोग कार्यक्रमको समयावधि अब पूरा भइसकेको जानकारी गराउँदा राउटे सहायक मुखिया ऐनबहादुर शाहीले “अब हामीहरु टुहुरा हुने भयो र अब हाम्रो हक र अधिकारका लागि कस्ले पहल गरिदिने” भन्दै दुःख व्यक्त गरे । यस कार्यक्रम अन्तर्गत हालसम्म राउटेहरुलाई खाद्यान्न तथा कपडा सहयोग, समुदायसँग अन्तरक्र्रिया कार्यक्रम, राउटे हक, अधिकारका लागि वकालत कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।

मुखिया महिनबहादुर शाहीले “यो कार्यक्रमले गर्दा हामीलाई बन जंगलमा घुमफिर गर्न र स्थानीय व्यक्तिहरुलाई कोशी, झुमा बेच्न सजिलो भएको थियो अब गारो हुन्छ” भन्दै मन खिन्न बनाएपछि सहयोगी साथी कृष्ण ओम थापा र मलाई पनि एकछिन नरमाइलो महसूस भयो । अरु दिनको तुलनामा आज राउटेहरु त्यति धेरै खुशी थिएनन् हामीलाई लाग्यो आज यो वस्तीमा कुनै सदस्य गम्भीर विरामी भएको वा मृत्यु भएको हुन सक्छ ।

राउटे युवाहरु भने दशैको जोगाडका लागि काठका सामाग्री निर्माणमा व्यस्त रहेका थिए । राउटे महिलाहरु धान, जौ, मकै सुकाउनमा व्यस्त थिए भने केटाकेटीहरु कोही खेल्नमा र कोही अभिभावकले गरेको कामको सिको गर्नमा व्यस्त थिए । एक हप्ताको बसाइ पश्चात हामीले राउटे मुखिया महिनबहादुर शाहीसँग बिदा माग्यौ । पहिला पहिला यसरी विदा माग्दा खुशी साथ विदा दिने मुखियाले आज भने “धेरै टाडाबाट आउनु भयो, दुः ख भयो तपाईहरुलाई । राम्रोसँग काठमाडौं जानुस् र सरकारबाट हाम्रो लागि थप सहयोग लिएर आउनुहोस् । हामी राउटेहरुलाई माया नमारिदिनुस्, मेरा जनताहरु तपाईहरुको आशमा बसिरहने छन्” भन्दै निकै परसम्म हामीलाई छोड्न आए ।

मुखियाको त्यो आग्रह पश्चात काठमाडौँ पुगेपछि सहयोगका लागि सरकार र सहयोगी संस्थाहरुसँग आग्रह गर्ने बाचा गर्दै सहयोगी मित्रका साथ म काठमाडौँ लागेँ । मनमा अझै एक किसिमको खुल्दुली छ– राउटेसँग भेटघाटको तीन वर्ष लामो सम्बन्ध अब यहीँ सकिने हो कि फेरि अर्को कार्यक्रम लिएर आउनुपर्ने हो ? राउटेहरुलाई फेरि सहयोग लिएर आउँछु भनेको मेरो वाचा पूरा हुने हो कि नहुने हो भन्ने सोचाइले मलाई निकै सताएको छ ।

e-mail: kapilnp2001@yahoo.com
Bookmark and Share