Thursday, April 8, 2010

एटीएमको प्रयोगकर्ता सात लाख

नेपालमा २०५२ सालदेखि प्रचलनमा आएको एटीएम (अटोमेटेड टेलर मेसिन) को बैङ्किङ सुविधा प्रयोगकर्ताको सङ्ख्या अहिले सात लाख पुगिसकेको छ ।
साधारण ग्राहकले समेत नोटको सट्टा एटीएम कार्ड बोक्ने गरेका छन् । हाल सात लाखको हाराहारीमा एटीएम प्रयोगकर्ता रहेको बैङ्कर्स एसोसिएसनको तथ्याङ्क रहेको छ ।
एटीएम कार्ड कामकाजमा व्यस्त व्यक्तिका साथै सर्वसाधारणका लागि भरपर्दो भएका कारण यसको प्रयोगकर्ता दिनानुदिन बढ्दै गइरहेका छन् । एटीएम सेवाग्राही प्रदीप सापकोटा एटीएम कार्ड प्रयोग गर्दा जतिखेर भन्यो त्यतिखेर पैसा झिक्न र खर्च गर्न सकिने भएका कारण यसको प्रयोगले आफू सुरक्षित भएको बताउनुहुन्छ । यसअघि तीन पटकसम्म आˆनै पैसा चोरिएका कारण एटीएम कार्डकोप्रयोग थालेको उहाँको भनाइ छ ।
ग्राहकको सेवालाई विस्तार गर्न एटीएम विभिन्न स्थानमा जडान गरिएको बैङ्क अफ काठमाण्डूका शाखा प्रबन्धक चिरञ्जीवि बिष्ट बताउनुहुन्छ । उहाँले बैङ्कको खुला प्रतिस्पर्धाका कारण एटीएम सेवा पनि द्रूत गतिमा बढिरहेको बताउनुभयो । न्युरोडस्थित सुन्दर भवनको भूईंतलामा एकै ठाउँमा आठवटा एटीएम काउन्टर सञ्चालित छन् । नेपाल इनभेस्टमेन्ट बैङ्क, बैङ्क अफ काठमाण्डू, नेपाल डेभलपमेन्ट बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सनराइज बैङ्क, नबिल बैङ्क, लक्ष्मी बैङ्क नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेडको संंयुक्त लगानीमा सो एटीएम मेसिन जडान गरिएको हो ।
एकातर्फ एटीएमका कारण रकम झिक्न सजिलोभएको छ भने अर्को तर्फ एटीएम मेसिनबाट सजिलोसँग रकम नआउँदाग्राहकले हैरानी पनि खेपिरहेका छन् । एटीएम सेवाबाट हैरानी खेपेका नवराज खतिवडा प्रतिस्पर्धाका कारण सेवा बढी प्रदान गरिए पनि गुणस्तरमा भने कमी भएको बताउनुहुन्छ । उहाँ लोडसेडिङका समयमा बैङ्कले एटीएममा विकल्पको खोजी गर्नुपर्ने बताउनुहुन्छ । हिमालयन बैङ्कका कार्ड विभाग प्रमुख ज्ञानेन्द्र श्रेष्ठ एटीएम मेसिनमा लोडसेडिङका कारण समस्या हुने गरेको बताउनुहुन्छ ।
बैङ्कहरूले एटीएमहरू जति बढी खोले पनि यस क्षेत्रमापरेको समस्याको गुनासो सुन्ने छुट्टै सरकारी निकाय भने अझैसम्म नभएकाले एटीएमका समस्याको समाधान गर्नगाह्रोभइरहेको बैङ्कर्स एसोसिएसनका अध्यक्ष शशिन जोशी बताउनुहुन्छ ।
यद्यपि यो सेवा प्रदायकको रुपमा रहेको स्मार्ट च्वाइस अफ टेक्नोलोजीले ग्राहक सुनुवाइ एकाइ राखे पनि त्यसको काम प्रभावकारी हुन नसकेको बताइएको छ ।